ठमेल पर्यटन परिषद् निर्वाचन: डंगोल समूहबाट कोषाध्यक्षमा व्यवसायी किन्चु ल्हामुको उम्मेदवारी – Sagarmathapana:: Online News Portal

ठमेल पर्यटन परिषद् निर्वाचन: डंगोल समूहबाट कोषाध्यक्षमा व्यवसायी किन्चु ल्हामुको उम्मेदवारी

   २०८३ असार २४ गते  

काठमाडौँ -ठमेल पर्यटन विकास परिषद्को आगामी नयाँ नेतृत्व चयनका लागि चुनावी सरगर्मी बढेको छ । यसै क्रममा पर्यटन व्यवसायी किन्चु ल्हामु भुटिया श्रेष्ठले परिषद्को आगामी निर्वाचनका लागि कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेकी छन् ।

आगामी असार २७ गते हुने निर्वाचनका लागि श्रेष्ठले राजुमान डंगोलको नेतृत्वमा रहेको ‘समावेशी समूह’ बाट प्यानलसहित उम्मेदवारी दिएकी हुन् । रेड क्यास्मेर र ‘टेस्ट अफ सिक्किम’ की सञ्चालकसमेत रहेकी श्रेष्ठ नेपाल पश्मिना उद्योगको व्यवस्थापनमा लामो समयदेखि सक्रिय छिन् ।

उम्मेदवारी घोषणा गर्दै श्रेष्ठले मुलुकको प्रमुख पर्यटकीय केन्द्र ठमेललाई दिगो, व्यवस्थित र सुरक्षित गन्तव्यका रूपमा विकास गर्न आफ्नो उम्मेदवारी रहेको स्पष्ट पारिन् । “ठमेलका पर्यटन व्यवसायीहरूबीचको सहकार्य र समन्वयलाई थप मजबुत बनाउँदै परिषद्लाई अझ बढी संस्थागत र पारदर्शी बनाउने मेरो मुख्य उद्देश्य हो,” उनले भनिन् ।

पारिवारिक व्यवसायसँगै पश्मिना उद्योगको व्यवस्थापन र सामाजिक सेवामा सक्रिय रहँदै आएकी श्रेष्ठको आगमनले ठमेलका महिला उद्यमी तथा युवा व्यवसायीहरूमा थप उत्साह थपेको दाबी डंगोल समूहको छ । ठमेलको रैथाने र आधुनिक पर्यटन व्यवसायलाई जोड्दै व्यवसायीका हकहित र सुरक्षाका लागि आफ्नो समूह प्रतिबद्ध रहेको उनले उल्लेख गरेकी छन् ।

पछिल्लो समय कोभिड र आर्थिक मन्दीको प्रभावबाट गुज्रिएको ठमेलको व्यवसायलाई पुनरुत्थान गर्न र अन्तर्राष्ट्रिय बजारमा यसको ब्रान्डिङ गर्न परिषद्को आगामी नेतृत्व सक्षम हुनुपर्ने व्यवसायीहरूको बुझाइ छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै