बाल सुधार गृह पुगेर कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री सिता बादीको प्रत्यक्ष संवाद – Sagarmathapana:: Online News Portal

बाल सुधार गृह पुगेर कानुनी विवादमा परेका बालबालिकासँग मन्त्री सिता बादीको प्रत्यक्ष संवाद

   २०८३ असार २१ गते  

नुवाकोट- महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी ले नुवाकोटस्थित बाल सुधार गृहको अनुगमन गर्दै कानुनी विवादमा परेका बालबालिकासँग प्रत्यक्ष संवाद गर्नुभएको छ।

स्थलगत निरीक्षणका क्रममा मन्त्री बादीले बाल सुधार गृहमा रहेका बालबालिकाको आवास, शिक्षा, स्वास्थ्य सेवा, सुरक्षा व्यवस्था, मनोसामाजिक परामर्श, सीप विकास तथा समग्र सेवा प्रवाहको अवस्थाबारे जानकारी लिनुका साथै कर्मचारी र सम्बन्धित पदाधिकारीसँग अन्तरक्रिया गर्नुभएको थियो।

अनुगमनकै क्रममा उहाँले गृहका पदाधिकारी तथा टोलीका अन्य सदस्यलाई बाहिर राखेर कानुनी विवादमा परेका बालबालिकासँग छुट्टै संवाद गर्नुभएको थियो। संवादका क्रममा बालबालिकाले प्रदेशगत आधारमा व्यवस्थापनको व्यवस्था गर्न, सूचना प्रविधि तथा कम्प्युटर शिक्षासँग जोडिएका सीपमूलक तालिम सञ्चालन गर्न तथा आधुनिक आवश्यकताअनुसार अवसर उपलब्ध गराउन आग्रह गरेका थिए।

उनीहरूले नियमित र प्रभावकारी मनोसामाजिक परामर्श सेवा, सहज पारिवारिक भेटघाटको व्यवस्था तथा पुनर्स्थापनामुखी कार्यक्रमलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता पनि औँल्याएका थिए। साथै, विद्यमान कानुनी व्यवस्थामा समयानुकूल संशोधन आवश्यक रहेको धारणा मन्त्रीसमक्ष राखेका थिए।

निरीक्षणपछि मन्त्री बादीले बाल सुधार गृहको सञ्चालनमा देखिएका आवश्यकता र चुनौतीको समीक्षा गर्दै सडक स्तरोन्नति, सीप विकास तालिम, औषधि उपचारका लागि बजेट व्यवस्था, सवारी साधन मर्मत, कर्मचारी व्यवस्थापन, कम्प्युटर ल्याब स्थापना, बैंक खाता सञ्चालन तथा आवश्यक पूर्वाधार सुदृढीकरणलगायतका विषयलाई प्राथमिकताका साथ सम्बोधन गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ।

उहाँले बालबालिकाको सर्वोत्तम हित, अधिकार संरक्षण र प्रभावकारी पुनर्स्थापनालाई सरकारले उच्च प्राथमिकतामा राखेको उल्लेख गर्दै बाल सुधार गृहलाई अझ सुरक्षित, बालमैत्री, व्यवस्थित र प्रभावकारी बनाउन मन्त्रालय आवश्यक समन्वय र पहल गर्न प्रतिबद्ध रहेको बताउनुभयो।

मन्त्री बादीले प्रत्येक बालबालिकाले सुरक्षित वातावरणमा शिक्षा, संरक्षण र विकासको अवसर पाउनुपर्नेमा जोड दिँदै राज्यका सबै निकायले समन्वय, संवेदनशीलता र उत्तरदायित्वका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै