लटरीबाट जितेको रु १ अर्ब २३ करोड नेपाल ल्याउने तयारी
युएईमा जितेको रु १ अर्ब २३ करोड नेपाल ल्याउने तयारी, उत्पादनमूलक लगानी गर्ने योजना
काठमाडौं । युएईमा कार्यरत पाँच नेपाली युवाले चिट्ठामार्फत जितेको ३० मिलियन दिराम (करिब १ अर्ब २३ करोड रुपैयाँ) वैधानिक प्रक्रियाबाट नेपाल भित्र्याएर उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने पहल थालेका छन्।
यसका लागि गोरखाका तैयव खान, पाल्पाका सन्दीप बिक, नवलपुरका युवराज गैरे, कास्कीका शिशिर पौडेल र रुपन्देहीका सुदीप न्यौपाने बिहीबार अबुधाबीस्थित नेपाली राजदूतावास पुगेका हुन्।
राजदूतावासका अनुसार उनीहरूले कानुनी प्रक्रिया पूरा गरी पुरस्कार रकम नेपाल पठाउने र स्वदेशमै लगानी गर्ने इच्छा व्यक्त गर्दै आवश्यक सहजीकरणका लागि दूतावाससँग अनुरोध गरेका छन्।
युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले रकम वैधानिक रूपमा नेपाल भित्र्याउने सम्पूर्ण प्रक्रियामा दूतावासले आवश्यक समन्वय र सहयोग गर्ने प्रतिबद्धता जनाएका छन्। उनले उक्त पुँजी उत्पादनमूलक उद्योग, व्यवसाय तथा रोजगारी सिर्जना गर्ने क्षेत्रमा परिचालन गर्न सुझाव दिएका छन्।
नेपालमा वैदेशिक रोजगारीबाट प्राप्त ठूलो रकम उत्पादनमूलक क्षेत्रमा लगानी हुन सके निजी क्षेत्र सुदृढ हुनुका साथै आर्थिक गतिविधि विस्तार, रोजगारी सिर्जना र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।
उल्लेखनीय रूपमा, पाँच जना साथीले संयुक्त रूपमा खरिद गरेको टिकटले युएई लटरीको ३० मिलियन दिरामको ज्याकपोट जितेको थियो, जसको पुरस्कार बराबरी रूपमा बाँडिएको हो।












