अटिजम भएका बालबालिकाको सेवामा सहयोग : ललितपुर महानगरद्वारा अटिजम केयर नेपाललाई सवारी साधन हस्तान्तरण
समावेशी विकासलाई प्राथमिकता दिँदै विशेष आवश्यकता भएका बालबालिकाको शिक्षा, थेरापी र पुनर्स्थापना सेवा सहज बनाउन सहयोग
ललितपुर- विशेष आवश्यकता भएका अटिजम भएका बालबालिका तथा व्यक्तिहरूलाई प्रदान गरिने सेवा थप प्रभावकारी, सहज र पहुँचयोग्य बनाउने उद्देश्यले ललितपुर महानगरपालिकाले अटिजम केयर नेपाल सोसाइटीलाई सवारी साधन हस्तान्तरण गरेको छ।
महानगरपालिकामा आयोजित कार्यक्रममा प्रमुख चिरीबाबु महर्जन, उपप्रमुख मञ्जली शाक्य बज्राचार्य तथा प्रवक्ता राजु महर्जनले संयुक्त रूपमा अटिजम केयर नेपाल सोसाइटीका कार्यकारी निर्देशक सुरेन्द्र बज्राचार्यलाई सवारी साधनको चाबी हस्तान्तरण गर्नुभयो।


कार्यक्रममा बोल्दै प्रमुख महर्जनले समावेशी विकासको अवधारणाअनुसार विशेष आवश्यकता भएका नागरिकको जीवन सहज, सुरक्षित र सम्मानजनक बनाउन महानगरपालिका निरन्तर सक्रिय रहेको बताउनुभयो। अटिजम भएका बालबालिकाको शिक्षा, स्वास्थ्य, थेरापी तथा पुनर्स्थापना सेवामा संस्थाले खेलेको भूमिकाको प्रशंसा गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक संस्थासँग सहकार्यलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले अटिजम भएका बालबालिका र उनीहरूका अभिभावकले दैनिक भोग्ने चुनौती न्यूनीकरण गर्न सवारी साधनले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले अपाङ्गता भएका व्यक्तिको अधिकार संरक्षण, समावेशी शिक्षा तथा सामाजिक सहभागिता अभिवृद्धिका लागि महानगरपालिकाले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिनुभयो।

प्रवक्ता राजु महर्जनले महानगरपालिकाले सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्दै अपाङ्गता भएका व्यक्तिहरूको क्षमता विकास र सेवा पहुँच विस्तारमा विशेष ध्यान दिएको उल्लेख गर्नुभयो। सरकारी निकाय र सामाजिक संस्थाबीचको सहकार्यले समावेशी समाज निर्माणमा थप टेवा पुग्ने उहाँको भनाइ थियो।
कार्यक्रममा कार्यपालिका सदस्य उमा बज्राचार्य र लक्ष्मी शर्मा, जिन्सी शाखा प्रमुख सागर थापा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखा प्रमुख सरिता महर्जन, अपाङ्गता समन्वय समितिका सदस्य, महानगरपालिकाका कर्मचारी, अटिजम केयर नेपाल सोसाइटीका पदाधिकारी तथा अन्य सरोकारवालाको उपस्थिति रहेको थियो।
सवारी साधन ग्रहण गर्दै अटिजम केयर नेपाल सोसाइटीका कार्यकारी निर्देशक सुरेन्द्र बज्राचार्यले ललितपुर महानगरपालिकाप्रति आभार व्यक्त गर्नुभयो। उहाँले प्राप्त सवारी साधनले अटिजम भएका बालबालिकाको थेरापी, विद्यालय आवतजावत, समुदायमा आधारित पुनर्स्थापना सेवा तथा सचेतनामूलक कार्यक्रम सञ्चालनमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसले संस्थाको सेवा थप प्रभावकारी र विस्तारित हुने बताउनुभयो।












