कालो सिसाविरुद्ध ट्राफिकको कडा अभियान: २१८ सवारी कारबाहीमा, ७,५०० देखि १५ हजार रुपैयाँसम्म जरिवाना – Sagarmathapana:: Online News Portal

कालो सिसाविरुद्ध ट्राफिकको कडा अभियान: २१८ सवारी कारबाहीमा, ७,५०० देखि १५ हजार रुपैयाँसम्म जरिवाना

   २०८३ असार १९ गते  

काठमाडौं।काठमाडौँ उपत्यकामा नियमविपरीत कालो सिसा (टिन्टेड ग्लास) प्रयोग गर्ने सवारी साधनविरुद्ध ट्राफिक प्रहरीले कडाइ थालेको छ। अभियान सुरु भएको चार दिनमै २१८ वटा सवारी साधन कारबाहीमा परेका छन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार १४ असारदेखि सञ्चालन गरिएको विशेष अभियानअन्तर्गत पहिलो दिन १०, दोस्रो दिन ९९, तेस्रो दिन ८७ र चौथो दिन २२ वटा गरी कुल २१८ सवारी साधनलाई कारबाही गरिएको हो।

कार्यालयका प्रमुख एसएसपी सुरेश काफ्लेले अनुमतिबिना कालो सिसा प्रयोग गर्नु कानुनविपरीत भएको स्पष्ट गर्दै हाल बागमती प्रदेश सवारी तथा यातायात व्यवस्था ऐन, २०७५ को दफा १३६ अनुसार कारबाही भइरहेको जानकारी दिए। कारबाहीपछि जरिवाना तथा अन्य प्रक्रिया एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमार्फत अगाडि बढाइने उनले बताए।

उनका अनुसार यो नयाँ व्यवस्था नभई वर्षौँदेखि लागू रहेको कानुनको प्रभावकारी कार्यान्वयन मात्र हो। सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, नियमावली, २०५४, सर्वोच्च अदालतको आदेश तथा बागमती प्रदेशको कानुनले बिनाअनुमति रङ्गीन वा कालो सिसा प्रयोग गर्न निषेध गरेका छन्।

ट्राफिक प्रहरीका प्रवक्ता एसपी नरेशराज सुवेदीका अनुसार नियम उल्लंघन गर्ने सवारी साधनलाई कसुरको प्रकृतिअनुसार ७ हजार ५ सयदेखि १५ हजार रुपैयाँसम्म जरिवाना गरिने व्यवस्था छ। विशेष कारणले रङ्गीन सिसा प्रयोग गर्नुपर्ने अवस्थामा भने यातायात व्यवस्था विभागको पूर्वस्वीकृति अनिवार्य हुने उनले बताए।

एसएसपी काफ्लेले कालो सिसाको दुरुपयोगबाट हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण, सडक सुरक्षा सुदृढीकरण तथा सार्वजनिक सुरक्षालाई ध्यानमा राखेर अभियान सञ्चालन गरिएको बताए। उनले धेरै सवारीधनीले स्वेच्छाले कालो सिसा हटाउन थालेको उल्लेख गर्दै सबैलाई कानुन पालना गर्न आग्रह गरेका छन्।

ट्राफिक प्रहरीले सडक अनुशासन कायम गर्न यस्ता निगरानी तथा कारबाहीका अभियान आगामी दिनमा पनि निरन्तर जारी रहने जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै