नबिल बैंकलाई एकैपटक तीन प्रतिष्ठित अवार्ड, लगातार तेस्रो वर्ष गोल्ड अवार्ड
काठमाडौं।नबिल बैंक लिमिटेडले बैंकिङ क्षेत्रका तीन प्रतिष्ठित अवार्ड प्राप्त गर्दै वित्तीय पारदर्शिता, सुशासन र दिगोपनाप्रतिको आफ्नो प्रतिबद्धतालाई पुनः स्थापित गरेको छ।
नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले प्रदान गर्ने वार्षिक बेस्ट प्रेजेन्टेड एनुअल रिपोर्ट (बीपीए) अवार्ड अन्तर्गत नबिल बैंकले निजी क्षेत्रका बैंकतर्फ लगातार तेस्रो वर्ष गोल्ड अवार्ड जितेको हो।

यससँगै, बीपीए अवार्डको इतिहासमै पहिलो पटक समावेश गरिएका कर्पोरेट गभर्नेन्स डिस्क्लोजर अवार्ड र सस्टेनेबिलिटी रिपोर्टिङ अवार्ड दुवै विधामा पनि बैंकले सर्टिफिकेट अफ मेरिट प्राप्त गरेको छ। यससँगै नबिल बैंक एकै वर्ष तीनवटा प्रतिष्ठित सम्मान प्राप्त गर्ने बैंक बनेको छ।
मंगलबार काठमाडौंमा आयोजित विशेष समारोहमा आइक्यानका अध्यक्ष सि.ए. निलबहादुर सारु मगरले नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली तथा वित्त प्रमुख सन्दीप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए।

आर्थिक वर्ष २०२५ मा प्रकाशित वार्षिक प्रतिवेदनको मूल्याङ्कनका आधारमा प्रदान गरिएको अवार्डका लागि वित्तीय पारदर्शिता, जवाफदेहिता, सुशासन, सूचना खुलासा तथा दिगोपनासम्बन्धी अभ्यासलाई प्रमुख मापदण्ड बनाइएको आइक्यानले जनाएको छ।
यसअघि पनि नबिल बैंकले सन् २०२३ र २०२४ का वार्षिक प्रतिवेदनका लागि गोल्ड अवार्ड प्राप्त गरिसकेको छ। यस वर्षको पुरस्कृत वार्षिक प्रतिवेदन दक्षिण एसियाली स्तरमा आयोजना हुने साफा बीपीए अवार्ड मा नेपालको प्रतिनिधित्व गर्ने गरी मनोनयनसमेत भएको छ।
हाल नबिल बैंकले देशभर २६६ शाखा र ३१८ एटीएममार्फत २५ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ। चार दशकभन्दा लामो बैंकिङ अनुभव बोकेको बैंकले पछिल्लो समय डिजिटल बैंकिङ विस्तार गर्दै एनबैंक सेवामार्फत प्रविधिमैत्री बैंकिङलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।












