बालेन शाहलाई गोली हान्ने धम्की दिने दुई किशोर धनुषाबाट पक्राउ,पेस्तोल र गोली बरामद – Sagarmathapana:: Online News Portal

बालेन शाहलाई गोली हान्ने धम्की दिने दुई किशोर धनुषाबाट पक्राउ,पेस्तोल र गोली बरामद

   २०८३ असार १६ गते  

काठमाडौं।प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहलाई गोली प्रहार गरेर हत्या गर्ने धम्की दिएको आरोपमा पेस्तोलसहित दुई किशोरलाई धनुषा प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनुषाको मुखियापट्टीका कमन यादव र सुधिर मुखिया रहेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले उनीहरूको साथबाट एक थान पेस्तोल र दुई राउण्ड गोली बरामद गरेको जनाएको छ।  

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काका अनुसार दुवै जना मदिरा तथा लागूऔषधको नशामा जथाभावी अभिव्यक्ति दिँदै हिँडिरहेको सूचना पाएपछि नियन्त्रणमा लिइएको हो।

प्रहरीका अनुसार सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनीहरूले ‘बालेनले गाउँ विकास गर्छु भनेर भोट मागे पनि केही नगरेको’ भन्दै गोली हान्ने योजना रहेको दाबी गरेका देखिन्छन्। भिडियोमा उनीहरू नशाको अवस्थामा रहेको पनि प्रस्ट देखिन्छ।  

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रहरीले सामाजिक सञ्जालमार्फत हिंसात्मक अभिव्यक्ति वा धम्कीपूर्ण सामग्री सार्वजनिक गर्नु कानुनी रूपमा दण्डनीय हुन सक्ने भन्दै यस्ता गतिविधिबाट टाढा रहन सबैलाई आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै