असार १५ मा ‘हली’ टोलीको रोपाइँ, किसानप्रति सम्मान व्यक्त
काठमाडौं।आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको चलचित्र ‘हली’ को निर्माण टोलीले राष्ट्रिय धान दिवस तथा असार १५ को अवसर पारेर धान रोप्दै किसानप्रति सम्मान व्यक्त गरेको छ।
सोमबार ललितपुरको सुनाकोठीमा आयोजित रोपाइँ कार्यक्रममा चलचित्रका कलाकार, निर्माता तथा संगीतकार हिलोमा उत्रिएर धान रोपाइँमा सहभागी भएका थिए। कार्यक्रममा अभिनेता प्रमोद दीप, अभिनेत्री सुजता थापा, विद्या कार्की, संगीतकार बाबुल गिरी तथा निर्माताद्वय पूजा गुरुङ र जश्मिन श्रेष्ठको सक्रिय सहभागिता रहेको थियो।


चलचित्र किसानको जीवन, संघर्ष र श्रमको कथामा आधारित भएकाले असार १५ को सांस्कृतिक तथा कृषि महत्वलाई सम्मान गर्दै रोपाइँ कार्यक्रम आयोजना गरिएको निर्माता पूजा गुरुङ र जश्मिन श्रेष्ठले बताए। उनीहरूका अनुसार नेपाली किसानको मेहनत, आशा र समृद्धिको प्रतीक मानिने असार १५ को सन्देश चलचित्रको कथासँग पनि गहिरो रूपमा जोडिएको छ।
रोपाइँ कार्यक्रममा सहभागी कलाकारहरूले पनि उत्साहका साथ धान रोप्दै किसानप्रति सम्मान र ऐक्यबद्धता व्यक्त गरेका थिए।

ओम प्रतीकको लेखन तथा निर्देशन रहेको चलचित्रमा पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानी रहेको छ। चलचित्रमा प्रमोद दीप, सुजता थापा, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले, विशाल पहाडी तथा निर्देशक ओम प्रतीक स्वयंको मुख्य भूमिका रहेको छ।
चलचित्र ‘हली’ आगामी साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा छ।













