जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे अन्तिम १६ मा,विश्वकपमा ऐतिहासिक जित – Sagarmathapana:: Online News Portal

जर्मनीलाई पेनाल्टी सुटआउटमा हराउँदै पाराग्वे अन्तिम १६ मा,विश्वकपमा ऐतिहासिक जित

   २०८३ असार १६ गते  

काठमाडौं।फिफा विश्वकप २०२६ मा दक्षिण अमेरिकी टोली पाराग्वेले चार पटकको विश्व विजेता जर्मनीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै ऐतिहासिक रूपमा अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ।

अमेरिकाको बोस्टनमा मंगलबार बिहान सम्पन्न राउण्ड अफ ३२ को रोमाञ्चक खेल निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटपछि १–१ को बराबरीमा टुंगिएपछि नतिजा पेनाल्टी सुटआउटबाट तय भएको थियो। सडनडेथसम्म पुगेको सुटआउटमा पाराग्वे ४–३ ले विजयी बन्यो।


पाराग्वेका जोसे कानालेले निर्णायक पेनाल्टी गोल गर्दै टोलीलाई ऐतिहासिक जित दिलाए। जर्मनी विश्वकप इतिहासमा पहिलो पटक पेनाल्टी सुटआउटमा पराजित भएको हो।

यससँगै सन् २००२ को विश्वकपको अन्तिम १६ मा जर्मनीसँग भोगेको हारको २४ वर्षपछि पाराग्वेले बदला लिन सफल भएको छ।

सुटआउटमा पाराग्वेका माउरिसियो, गोस्ताभो गोमेज, माथियस गालार्जा र जोसे कानालेले गोल गरे। जर्मनीका कप्तान जोसुआ किम्मिच, जमाल मुसियाला र नादिएम अमिरीले मात्र गोल गर्न सके।

जर्मनीका काई हाभार्ट र निक वाल्टमेडको प्रहार पाराग्वेका गोलरक्षक ओर्लान्डो गिलले शानदार रूपमा बचाए भने जोनाथन ताहको प्रहार पोस्टमाथिबाट बाहिरियो, जसले जर्मनीको हार सुनिश्चित गरिदियो।

खेलको ४२औँ मिनेटमा जुलियो इनसिसोले गोल गर्दै पाराग्वेलाई अग्रता दिलाएका थिए। जर्मनीका काई हाभार्टले ५४औँ मिनेटमा बराबरी गोल फर्काए। अतिरिक्त समयको १०२औँ मिनेटमा जोनाथन ताहले गरेको गोल भिएआर जाँचपछि फाउल ठहरिँदै रद्द गरिएको थियो।

यस जितसँगै पाराग्वेले अब फ्रान्स र स्वीडेनबीचको विजेतासँग अन्तिम १६ मा प्रतिस्पर्धा गर्नेछ।

उता, सन् २०१४ मा विश्वकप जितेयता जर्मनीले विश्वकपको नकआउट चरणमा जित निकाल्न सकेको छैन। पछिल्ला दुई संस्करणमा समूह चरणबाटै बाहिरिएको जर्मनी यसपटक नकआउटमा पुगे पनि पहिलो खेलमै पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

पाराग्वेले भने विश्वकप इतिहासमा दोस्रो पटक नकआउट चरणको खेल जितेको हो। यसअघि सन् २०१० को विश्वकपमा जापानलाई पेनाल्टी सुटआउटमा हराउँदै क्वाटरफाइनल पुगेको पाराग्वे यसपटक पूर्व विश्वविजेता जर्मनीलाई स्तब्ध पार्दै अर्को ऐतिहासिक उपलब्धि हासिल गर्न सफल भएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै