३३ विधामा प्रतिभा सम्मानित : ‘म्यूजिकखबर म्यूजिक अवार्ड–२०८२’ मा शम्भुजीत बासकोटा र पल शाह चर्चामा
काठमाडौं । नेपाली गीत–संगीत क्षेत्रका स्रष्टा, सर्जक तथा कलाकारलाई सम्मान गर्ने उद्देश्यले आयोजित १३औँ ‘म्यूजिकखबर म्यूजिक अवार्ड–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। ‘अग्रजलाई सम्मान, अनुजलाई प्रोत्साहन’ भन्ने मूल नारासहित काठमाडौंको बालुवाटारमा सम्पन्न समारोहमा ३३ विधाका उत्कृष्ट कलाकार तथा स्रष्टालाई अवार्ड प्रदान गरिएको हो।
नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा चलचित्र, संगीत र साहित्य क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।


समारोहमा नेपाली संगीत क्षेत्रमा दशकौँदेखि पुर्याएको अतुलनीय योगदानको कदर गर्दै वरिष्ठ संगीतकार शम्भुजीत बासकोटालाई नगद ५१ हजार रुपैयाँसहित ‘म्यूजिकखबर दीर्घ साधना सम्मान–२०८२’ प्रदान गरिएको थियो।
यसैगरी उन्नती शीला बोहरा, विजय शिवाकोटी, शिव परियार, कालिका रोका मगर, पुरुषोत्तम सानु, सुशिला पौडेल, पुष्पा खनाल, कुवेर गिरी, गोपीकृष्ण चापागाईं, युनिश घिमिरे, नीता आचार्य, डा. रणजित झा र उदयराज शर्मासहित विभिन्न व्यक्तित्वलाई विशेष सम्मान प्रदान गरियो।

अवार्डतर्फ सुगम गायनमा प्रविन बेडवाल र सारिका घिमिरे उत्कृष्ट घोषित भए भने गीतकारतर्फ डम्बर याक्सो तथा संगीतकारतर्फ शंकर थापा ‘स्माइल’ सम्मानित भए। चलचित्र संगीततर्फ सुरज पण्डित, झुमा लिम्बु, थानेश्वर गौतम र युवराज काफ्ले उत्कृष्ट घोषित भए।
लोकदोहोरी विधामा अर्जुन सापकोटा र लक्ष्मी आचार्य उत्कृष्ट गायक–गायिका बने। लोक भिडियो मोडलतर्फ लोकप्रिय अभिनेता पल शाह र नारायणी खत्री ‘करिमैले’ गीतबाट उत्कृष्ट घोषित भए। निर्देशकतर्फ दीप गुरुङ तथा लोक नवप्रतिभातर्फ रेखा पोख्रेल र मनोहर शर्मा सम्मानित भए।
समारोहमा टीका प्रसाईं, पल शाह, नारायणी खत्री, देवान खनाल, धिरज राई तथा युनिश घिमिरेलगायत कलाकारहरूको सांगीतिक प्रस्तुति आकर्षणको केन्द्र बनेको थियो।
नेपाली संगीत क्षेत्रका अग्रजदेखि नयाँ पुस्तासम्मका प्रतिभालाई एउटै मञ्चमा सम्मान गर्दै सम्पन्न भएको यस वर्षको ‘म्यूजिकखबर म्यूजिक अवार्ड’ले स्रष्टा र कलाकारको योगदानको उच्च मूल्यांकन गरेको आयोजकले जनाएको छ।












