अयोध्यामा १०१ रामलाला भक्तद्वारा विश्व शान्तिको कामना, सिंगापुरका नागरिक पनि सहभागी
अयोध्या।भारतको अयोध्यामा दिल्ली स्टडी ग्रुपका १०१ जना रामलाला भक्तले विश्व शान्ति, सद्भाव र मानव एकताको कामनासहित विशेष हवन तथा पूजाआजा सम्पन्न गरेका छन्। उक्त टोलीको नेतृत्व भारतीय जनता पार्टी (भाजपा) का वरिष्ठ नेता तथा पूर्व दिल्ली विधायक डा. विजय जोलीले गरेका थिए। सहभागीमध्ये ६ जना सिंगापुरका नागरिक पनि रहेका थिए।
आफ्नो चौथो अयोध्या तीर्थयात्राका क्रममा भक्तजनहरूले अयोध्यास्थित राम मन्दिरमा पुगेर रामललाको दर्शन तथा पूजा गरेका थिए। कार्यक्रममा राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रचारक चम्पत रायले पनि सम्बोधन गरेका थिए।

चम्पत रायले सन् २०२३ अप्रिल २३ मा डा. विजय जोलीको पहलमा विश्वका १५६ देशका समुद्र तथा नदीको जल संकलन गरी अयोध्या राम मन्दिरमा गरिएको जलाभिषेकलाई अयोध्याको ऐतिहासिक तथा विशिष्ट कार्यक्रमको रूपमा प्रशंसा गरे।
उनले अयोध्या राम मन्दिरको निर्माणलाई यस शताब्दीको सबैभन्दा ठूलो उपलब्धिमध्ये एक भएको उल्लेख गर्दै मन्दिर आधुनिक इन्जिनियरिङ तथा उन्नत वास्तुकलाअनुसार निर्माण गरिएको बताए। उनका अनुसार मन्दिरको संरचना एक हजार वर्षभन्दा बढी समयसम्म सुरक्षित रहने गरी तयार गरिएको छ र यसले आँधी, हुरी, भारी वर्षा तथा शक्तिशाली भूकम्पजस्ता प्राकृतिक विपत्तिसमेत सामना गर्न सक्ने क्षमता राख्छ।
कार्यक्रममा उपस्थित भक्तजनहरूले “जय श्रीराम” का नारा लगाउँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको सफलताको कामना गरेका थिए। साथै विश्वमा शान्ति, भाइचारा र मित्रताको वातावरण कायम होस् भन्ने प्रार्थना गर्दै अमेरिका–इजरायल–इरान तथा रुस–युक्रेनबीच जारी युद्ध तत्काल अन्त्य हुनुपर्ने मागसमेत गरेका थिए।












