दार्जिलिङमा साकेला उँभौली पर्वमा सांसद राजु विष्ट र सिक्किमका मुख्यमन्त्री पी.एस. गोलेको सहभागिता
काठमाडौं।दार्जिलिङस्थित किराँती खम्बु (राई) सांस्कृतिक संस्थान केन्द्रीय समितिले आयोजना गरेको पवित्र साकेला उँभौली पर्वमा दार्जिलिङका लोकसभा सांसद राजु विष्ट र सिक्किमका मुख्यमन्त्री पी.एस. गोले सहभागी भएका छन्।
शनिबार आयोजित कार्यक्रममा सांसद विष्टले साकेला उँभौली पर्वमा सहभागी हुन पाउँदा आफूलाई गौरवान्वित महसुस भएको बताउँदै निमन्त्रणाका लागि संस्थानप्रति आभार व्यक्त गरे।


उनले राई समुदाय नेपालीभाषी गोर्खा समाजको गौरवशाली, वीर र सांस्कृतिक रूपमा समृद्ध समुदाय भएको उल्लेख गर्दै साकेला उँभौली पर्व प्रकृतिपूजा, पुर्खाप्रतिको सम्मान, कृषि संस्कृति र ऋतु परिवर्तनसँग जोडिएको महत्वपूर्ण सांस्कृतिक पर्व भएको बताए।
सांसद विष्टका अनुसार यस्ता मौलिक पर्वहरूले नयाँ पुस्तालाई आफ्नो भाषा, संस्कृति, सभ्यता र पहिचानसँग जोड्ने महत्वपूर्ण भूमिका खेल्छन्। उनले साकेला उँभौलीले सबैलाई एकताको सूत्रमा बाँध्दै सामूहिक संस्कृति र मौलिक पहिचानलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरे।


कार्यक्रममा सहभागी सबैलाई शुभकामना व्यक्त गर्दै उनले साकेला उँभौली पर्वले समाजमा आपसी सद्भाव, एकता र सांस्कृतिक संरक्षणको भावना अझ मजबुत बनाओस् भन्ने कामना गरे।












