टोखा–३ मा निःशुल्क स्वास्थ्य शिविर,८२ महिलाको पाठेघर क्यान्सर परीक्षण
काठमाडौं।टोखा नगरपालिका–३ ले महिलाको स्वास्थ्य संरक्षण तथा पाठेघरको क्यान्सरको समयमै पहिचान गर्ने उद्देश्यले आइतबार निःशुल्क स्तन तथा पाठेघर क्यान्सर स्वास्थ्य शिविर सञ्चालन गरेको छ।
बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सरस्वती भवनमा आयोजित शिविरमा पाठेघरको क्यान्सरसम्बन्धी HPV DNA स्क्रिनिङ, भिडियो एक्स–रे तथा स्त्रीरोग विशेषज्ञबाट निःशुल्क स्वास्थ्य परीक्षण र परामर्श सेवा प्रदान गरिएको थियो।
शिविरमा प्राविधिक सहयोग एमएन हस्पिटल र मोडर्न डायग्नोस्टिक सेन्टरले गरेका थिए। वडा नं. ३ का स्वास्थ्य विभाग प्रमुख सञ्जीव पटेलका अनुसार शिविरमा ८२ जना महिलाको HPV DNA परीक्षण तथा ६० जनाको भिडियो एक्स–रे गरिएको छ। उहाँले पाठेघरको क्यान्सर प्रारम्भिक अवस्थामै पहिचान गर्न सके उपचार प्रभावकारी हुने भएकाले यस्ता शिविर महिलाको स्वास्थ्य सुरक्षाका लागि महत्वपूर्ण हुने बताउनुभयो।
वडा अध्यक्ष रमेश डंगोलले महिलाको स्वास्थ्यलाई प्राथमिकतामा राख्दै वडावासीलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिनुभयो। नियमित स्वास्थ्य परीक्षण र समयमै रोग पहिचानले गम्भीर स्वास्थ्य समस्या न्यूनीकरण गर्न सहयोग पुग्ने भन्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभयो।
वडा सदस्य शान्ता राईले महिलाहरूलाई आफ्नो स्वास्थ्यप्रति सचेत रहन र यस्ता स्वास्थ्य शिविरमा सक्रिय सहभागिता जनाउन आग्रह गर्नुभयो। उहाँले स्थानीय सरकार नागरिकको घरदैलोमै स्वास्थ्य सेवा पुर्याउन प्रतिबद्ध रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले महिलाको स्वास्थ्य संरक्षणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो।
शिविरमा वडा जनप्रतिनिधि, स्वास्थ्य स्वयंसेविका तथा स्थानीय महिलाहरूको उत्साहजनक सहभागिता रहेको थियो। सहभागीहरूले निःशुल्क विशेषज्ञ सेवा, स्वास्थ्य परीक्षण र परामर्शबाट प्रत्यक्ष लाभ पाएको भन्दै यस्ता कार्यक्रम नियमित रूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।
टोखा नगरपालिका–३ ले प्रत्येक शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको जनाएको छ। नियमित स्वास्थ्य सेवामार्फत रोगको समयमै पहिचान, उपचारमा पहुँच विस्तार र स्वास्थ्य सचेतना अभिवृद्धि गर्ने लक्ष्यसहित आगामी दिनमा पनि यस्ता जनमुखी कार्यक्रमलाई निरन्तरता दिइने वडाले जनाएको छ।












