असार १५ मा ७५ लाख लिटर दही खपत हुने, एक अर्ब रुपैयाँको कारोबार हुने अनुमान
काठमाडौं । राष्ट्रिय धान दिवस तथा असार १५ रोपाइँ महोत्सव २०८३ को अवसरमा देशभर करिब ७५ लाख लिटर दही खपत हुने तथा एक अर्ब रुपैयाँ बराबरको कारोबार हुने अनुमान गरिएको छ।
नेपाल डेरी एसोसिएसनले बिहीबार आयोजना गरेको दही–चिउरा प्रवर्द्धन तथा उपभोग कार्यक्रमबारे जानकारी दिँदै एसोसिएसनका अध्यक्ष प्रल्हाद दाहालले असार १५ नेपाली कृषि, संस्कृति, परम्परा, खाद्य सुरक्षा तथा ग्रामीण अर्थतन्त्रसँग अभिन्न रूपमा जोडिएको पर्व भएको बताए।

उनले धान रोपाइँसँगै दही–चिउरा खाने परम्पराले नेपाली समाजको मौलिक संस्कृति, सामाजिक एकता र जीवनशैलीलाई पुस्तौंदेखि निरन्तरता दिँदै आएको उल्लेख गरे। ‘जनमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने राष्ट्रिय नारालाई आत्मसात गर्दै दही–चिउरा प्रवर्द्धन कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिए।
दाहालका अनुसार दुग्ध क्षेत्र लाखौं किसान परिवारको प्रत्यक्ष जीविकोपार्जनसँग जोडिएको महत्वपूर्ण क्षेत्र हो। यसको दिगो विकासले राष्ट्रिय अर्थतन्त्र, पोषण सुरक्षा तथा ग्रामीण समृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने उनले बताए।

उनले असार १५ मा दही–चिउरा खाने परम्परा केवल सांस्कृतिक अभ्यास मात्र नभई कृषि उत्पादन, श्रमको सम्मान, स्थानीय उत्पादनको उपयोग तथा सामाजिक सद्भावको जीवन्त उदाहरण भएको उल्लेख गरे। खेतमा कठिन श्रमपछि दही–चिउरा सेवन गर्ने चलनले कृषकलाई ऊर्जा प्रदान गर्नुका साथै सामूहिकताको भावना बलियो बनाउने उनको भनाइ छ।
दाहालले पछिल्लो समय यस्ता मौलिक परम्पराहरू हराउँदै गएको भन्दै नयाँ पुस्तासम्म नेपाली कृषि संस्कृति र जीवनशैली पुर्याउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए। दही–चिउरा पोषण र स्वास्थ्यका दृष्टिले पनि लाभदायक रहेको उल्लेख गर्दै उनले मोहीले पाचन प्रक्रियामा सुधार, शरीरलाई हाइड्रेट राख्ने, रोग प्रतिरोधात्मक क्षमता बढाउने तथा गर्मी मौसममा शरीरलाई शीतलता प्रदान गर्ने गुण रहेको बताए।
उनले असार १५ को अवसरमा दही तथा दुग्धजन्य पदार्थको खपत उल्लेखनीय रूपमा वृद्धि हुने र यसबाट दूध उत्पादक किसान, दुग्ध सहकारी तथा दुग्ध उद्योगहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास व्यक्त गरे।













