ग्लोबल आइएमई बैंकको स्वतन्त्र महिला सञ्चालकमा बिन्द्रा हाडा भट्टराई नियुक्त
काठमाडौं।ग्लोबल आइएमई बैंक लिमिटेडले सञ्चालक समिति सदस्यमा बिन्द्रा हाडा भट्टराईलाई नियुक्त गरेको छ। शुक्रबार बसेको बैंकको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र महिला सञ्चालक पदमा भट्टराईलाई नियुक्त गर्ने निर्णय गरेको हो।
नवनियुक्त सञ्चालक भट्टराईलाई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले आयोजित विशेष समारोहबीच स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।
सार्वजनिक प्रशासन, सुशासन तथा विकास व्यवस्थापन क्षेत्रमा साढे तीन दशकभन्दा बढी अनुभव हासिल गरेकी भट्टराई नेपाल सरकारकी पूर्वसचिव हुन्। आफ्नो सेवाकालमा उनले सिँचाइ मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रिय सूचना आयोग, नेपाल ट्रष्टको कार्यालय, महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलगायत विभिन्न निकायमा महत्वपूर्ण जिम्मेवारी सम्हालेकी थिइन्।
शैक्षिक रूपमा उनले त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्र र जनप्रशासनमा स्नातकोत्तर तथा कानुनमा स्नातक अध्ययन पूरा गरेकी छन्। साथै, अमेरिकाको युनिभर्सिटी अफ नर्थ क्यारोलिनाबाट पब्लिक पोलिसी (ट्रेड एण्ड फाइनान्स) र ड्युक युनिभर्सिटीबाट ननप्रफिट म्यानेजमेन्ट विषयमा उच्च शिक्षा हासिल गरेकी छन्।
हाल भट्टराई साउथ एसिया वाच अन ट्रेड, इकोनोमिक्स एन्ड इन्भाइरोन्मेन्टकी कार्यकारी सदस्य तथा प्रोफेसल होल्डिङ्सकी स्वतन्त्र सञ्चालकका रूपमा कार्यरत छिन्।
बैंकले भट्टराईको नियुक्तिसँगै संस्थाको व्यावसायिक रणनीति, सामाजिक उत्तरदायित्व तथा दिगो विकासका लक्ष्यलाई अझ प्रभावकारी ढंगले अगाडि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।
स्वागत कार्यक्रममा बैंकका अन्य सञ्चालक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।












