५० अर्ब बक्यौता उठाउन ऊर्जामन्त्री विराजभक्तको बोल्ड कदम,प्राधिकरणलाई तत्काल असुलीको निर्देशन – Sagarmathapana:: Online News Portal

५० अर्ब बक्यौता उठाउन ऊर्जामन्त्री विराजभक्तको बोल्ड कदम,प्राधिकरणलाई तत्काल असुलीको निर्देशन

   २०८३ जेष्ठ २७ गते  

काठमाडौं।ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ ले नेपाल विद्युत् प्राधिकरणलाई ५० अर्ब रुपैयाँभन्दा बढी विद्युत् महसुल बक्यौता तत्काल असुल गर्न निर्देशन दिएका छन्। लामो समयदेखि उठ्न नसकेको बक्यौता रकम फर्छ्योट गर्न मन्त्री श्रेष्ठले असुली प्रक्रियालाई उच्च प्राथमिकतामा राख्न प्राधिकरणलाई स्पष्ट निर्देशन दिएका हुन्।  

प्राधिकरण सञ्चालक समिति तथा उच्च व्यवस्थापनसँगको बैठकमा मन्त्री श्रेष्ठले डेडिकेटेड फिडर, ट्रंक लाइन, इन्टरनेट सेवा प्रदायक, औद्योगिक क्षेत्र तथा सडक बत्ती लगायतका क्षेत्रबाट उठ्न बाँकी महसुल असुलीमा ढिलाइ गर्न नहुने बताएका छन्। उनले बक्यौता उठाउन मन्त्रालयको थप निर्देशन पर्खिन आवश्यक नरहेको र विद्यमान कानुन तथा प्रक्रियाअनुसार तत्काल काम अघि बढाउन आग्रह गरेका छन्।  

महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदनअनुसार विद्युत् महसुल बक्यौता करिब ५० अर्ब १ करोड रुपैयाँ पुगेको उल्लेख गरिएको छ। यही कारण सरकार र प्राधिकरणमाथि असुली प्रक्रिया तीव्र बनाउन दबाब बढिरहेको छ।  

मन्त्री श्रेष्ठको यो कदमलाई ऊर्जा क्षेत्रको वित्तीय अनुशासन कायम गर्ने तथा राज्यको राजस्व संकलन बलियो बनाउने प्रयासका रूपमा हेरिएको छ। अब प्राधिकरणले बक्यौता असुली अभियानलाई कसरी अगाडि बढाउँछ भन्ने विषय चासोको केन्द्र बनेको छ।  

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै