गफले होइन, श्रमले बन्छ मुलुक : उर्लाबारीमा हर्क साम्पाङको जोड
उर्लाबारी।Harka Sampang ले मुलुकको समृद्धि र विकासका लागि श्रमलाई राष्ट्रिय संस्कृतिका रूपमा स्थापित गर्नुपर्ने बताएका छन् । उनले भाषण, आश्वासन र राजनीतिक गफले देश नबन्ने भन्दै उत्पादनशील श्रममार्फत आत्मनिर्भर राष्ट्र निर्माण गर्न सकिने धारणा व्यक्त गरे ।
मोरङको उर्लाबारीमा शुक्रबार आयोजित स्थानीय नागरिक, पार्टी कार्यकर्ता तथा श्रमदातासँगको भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष साम्पाङले नेपालमा श्रमको सम्मान हुन नसक्दा विकासको गति सुस्त बनेको बताए ।
उनले काम गर्ने मानिसलाई हेप्ने र गफ गर्ने मानिसलाई सम्मान गर्ने गलत सामाजिक सोचका कारण देशले अपेक्षित उपलब्धि हासिल गर्न नसकेको उल्लेख गरे ।
“देश नबन्नुको मुख्य कारण कामको अभाव होइन, कामप्रतिको दृष्टिकोण हो,” उनले भने, “हामीकहाँ श्रम गर्ने मानिसलाई तल्लो दृष्टिले हेर्ने र काम नगरी भाषण गर्ने मानिसलाई माथि राख्ने प्रवृत्ति छ । यही संस्कार परिवर्तन नगरेसम्म देशले गति लिन सक्दैन ।”
साम्पाङले अधिकांश राजनीतिक दल विकासका नाममा भाषण र आश्वासनमै सीमित भएको आरोप लगाउँदै व्यवहारमा काम गर्ने संस्कृतिको विकास आवश्यक रहेको बताए । उनका अनुसार जनताले अब गफभन्दा काम गर्ने नेतृत्व खोज्न थालेका छन् ।
उनले युवालाई वैदेशिक रोजगारीमा मात्र निर्भर नभई कृषि, उत्पादन र सामुदायिक श्रममा जोडिन आग्रह गर्दै श्रमप्रतिको सम्मान बढाउनुपर्ने धारणा राखे ।












