चिरञ्जीवी भवः’ मा आशीर्वाद क्षेत्री मुख्य भूमिकामा अनुबन्धित
काठमाडौं।चिरञ्जीवी भवः चलचित्रका लागि अभिनेता आशीर्वाद क्षेत्री मुख्य भूमिकामा अनुबन्धित भएका छन्। निर्माण टिमले बुधबार औपचारिक रूपमा उनलाई फिल्ममा भित्र्याएको जानकारी दिएको हो।
यसअघि नै मोडल तथा इन्फ्लुएन्सर प्रशंसा रायमाझी ले यही चलचित्रमार्फत नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्ने घोषणा भइसकेको छ। निर्माण पक्षले गत आइतबार सार्वजनिक गरेको पोस्टरमार्फत उनलाई स्वागत गरिएको थियो।
फिल्मको निर्देशन दीपकप्रसाद आचार्य ले गर्नेछन् भने कथा कुमार कट्टेल ले तयार पारेका हुन्। लेखनमा सविन अधिकारी र बसन्त न्यौपाने को सहकार्य रहेको छ।
सामाजिक ड्रामा जनरामा बन्ने यो फिल्मले दुई पुस्ताबीचको वैचारिक अन्तर र सम्बन्धको कथालाई मुख्य विषय बनाउनेछ। लेखक कट्टेलका अनुसार कथा समसामयिक परिवेशमा आधारित छ।
निर्माता उमेश कुमार बराल रहेको यस चलचित्रमा कार्यकारी निर्माताको रूपमा कुमार कट्टेल र शैलेश खत्री रहेका छन्। ‘चिरञ्जीवी भवः’ निर्देशक आचार्यको दोस्रो निर्देशकीय प्रयास हुनेछ।












