सरकार जनताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत – Sagarmathapana:: Online News Portal

सरकार जनताबाट बिदा हुने दिन टाढा छैन : महेश बस्नेत

   २०८३ बैशाख १० गते  

काठमाडौँ।महेश बस्नेतले वर्तमान सरकार जनताको मन र सत्ताबाट चाँडै बाहिरिने दाबी गरेका छन्। नेकपा एमालेका सचिव बस्नेतले अतिक्रमित सुकुम्वासी बस्ती हटाउने निर्णयप्रति कडा असन्तुष्टि जनाएका हुन्।

सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै उनले बालेन्द्र शाह नेतृत्वको सरकारको निर्णयले “सरकारको वास्तविक चरित्र उजागर भएको” बताएका छन्। उनका अनुसार सुरक्षा प्रमुखलाई बोलाएर “शनिबार–आइतबारभित्र सुकुम्वासी बस्ती खाली गर” भन्ने निर्देशन दिनु गैरजिम्मेवार कदम हो।

बस्नेतले यस विषयमा रवि लामिछानेको अघिल्लो अभिव्यक्ति पनि स्मरण गराएका छन्। उनले भने, “सुकुम्वासी बस्तीमा डोजर आयो भने म छाती थाप्छु भन्ने प्रतिबद्धता कहाँ गयो? अहिलेको अवस्था हेर्दा जनतालाई भ्रममा राख्ने भाषण मात्रै भएको देखिन्छ।”

उनले सरकारमाथि गम्भीर प्रश्न उठाउँदै सुकुम्वासी समस्या समाधान गर्ने कि विस्थापित गर्ने भन्ने स्पष्ट नीति माग गरेका छन्। “गरिबी हटाउने कि गरिबलाई नै समाप्त पार्ने? सडक चौडा बनाउने नाममा साना व्यवसायी र स्थानीयको घरमा डोजर चलाउनु प्रगति होइन, गरिबमाथिको सीधा हमला हो,” उनले टिप्पणी गरेका छन्।

बस्नेतले भन्सारमा कडाइ, साना व्यापारीमाथि दबाब तथा विद्यार्थी–कर्मचारी संगठन खारेजजस्ता निर्णयले सरकार अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाए।

उनले अन्त्यमा चेतावनी दिँदै भने, “जनविरोधी र गरिबमारा नीतिविरुद्ध जनता चुप लागेर बस्ने छैनन्। यस्तो शासन धेरै टिक्दैन।”

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै