राइड सेयरिङमा कडाइ: १५ वर्ष नाघेका सवारी प्रतिबन्ध, चालकका लागि नयाँ योग्यता लागू हुँदै – Sagarmathapana:: Online News Portal

राइड सेयरिङमा कडाइ: १५ वर्ष नाघेका सवारी प्रतिबन्ध, चालकका लागि नयाँ योग्यता लागू हुँदै

   २०८३ बैशाख १० गते  

काठमाडौं।सरकारले Pathao र inDriver जस्ता राइड सेयरिङ सेवाहरूलाई थप व्यवस्थित र सुरक्षित बनाउन कडा मापदण्ड लागू गर्ने तयारी गरेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको मस्यौदा अनुसार अब १५ वर्षभन्दा पुराना कुनै पनि दुई पाङ्ग्रे वा चार पाङ्ग्रे सवारीसाधनले डिजिटल प्लेटफर्ममार्फत यात्रु बोक्न नपाउने व्यवस्था गरिनेछ।

नयाँ नियमले यात्रु सुरक्षामा विशेष जोड दिएको छ। सबै सवारीसाधनमा अनिवार्य रूपमा जीपीएस ट्र्याकिङ सिस्टम जडान गर्नुपर्नेछ भने आपतकालीन अवस्थामा प्रहरीसँग सिधै सम्पर्क हुने ‘इमर्जेन्सी बटन’ पनि राख्नुपर्नेछ। मोटरसाइकल सेवामा चालक र यात्रु दुवैले हेलमेट लगाउन अनिवार्य गरिएको छ।

चालक छनोटमा पनि कडाइ गरिने भएको छ। अब राइड सेयरिङ चालक बन्न कम्तीमा १८ वर्ष उमेर पुगेको हुनुपर्नेछ र ड्राइभिङ लाइसेन्स लिएको कम्तीमा एक वर्ष पूरा भएको हुनुपर्नेछ। साथै, आपराधिक पृष्ठभूमि नभएको, स्वास्थ्य अवस्था राम्रो भएको र लागूऔषध सेवन नगर्ने व्यक्तिलाई मात्र चालकका रूपमा आबद्ध गर्न पाइनेछ।

यसका साथै, सेवा प्रदायक कम्पनीहरूले आफ्ना चालकहरूको अनिवार्य जीवन बीमा गराउनुपर्नेछ र उनीहरूलाई सामाजिक सुरक्षा कोषमा समेत आबद्ध गर्नुपर्ने प्रावधान राखिएको छ।

सरकारको यो पहलले राइड सेयरिङ क्षेत्रमा बढ्दो असुरक्षा, अनियमितता र सेवाको गुणस्तर सम्बन्धी गुनासोहरूलाई सम्बोधन गर्ने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै