लगानी बोर्डको १३औँ बैठक: प्रगति सुस्त हुँदा अर्थमन्त्रीको कडा चेतावनी
काठमाडौं -लगानी बोर्डको अनुगमन तथा सहजीकरण समितिको १३औँ बैठक मंगलबार अर्थ मन्त्रालयमा सम्पन्न भएको छ। बैठक अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा बसेको हो। बैठकमा स्वीकृत परियोजनाहरूको सुस्त प्रगति र कार्यान्वयनमा देखिएको कमजोरीबारे गम्भीर छलफल भएको छ।
अर्थमन्त्री वाग्लेले लगानी स्वीकृत भएका ५५ आयोजनामध्ये केवल २ वटा मात्रै निर्माण चरणमा पुग्नु “लाजमर्दो अवस्था” भएको टिप्पणी गरे। उनले लामो समयसम्म विदेशी लगानी स्वीकृत भएर पनि काम अघि नबढ्नु अस्वीकार्य रहेको बताउँदै यसबारे निर्मम समीक्षा आवश्यक भएको स्पष्ट पारे।
उनले प्रश्न उठाए, “परियोजना अघि नबढ्नुमा दोषी को हो? व्यक्ति भए व्यक्ति, कानुन भए कानुन फेर्नुपर्ने अवस्था आएको छ।” साथै, समस्या तत्काल पहिचान गरी समाधान प्रस्तुत गर्न निर्देशन दिँदै आगामी १४औँ बैठकसम्म ठोस प्रगति नदेखिए कडा निर्णय लिइने चेतावनी दिए।
अर्थमन्त्रीले लगानी सहजीकरण गर्ने शक्तिशाली निकाय नै निरीह देखिनु अत्यन्त गलत सन्देश गएको उल्लेख गर्दै कम्तीमा १० वटा परियोजनामा तत्काल प्रगति देखिनुपर्नेमा जोड दिए। उनले केही ‘फेन्सी आयोजना’को व्यवहारिकता पनि पुनर्विचार गर्नुपर्ने संकेत गरे।
प्रधानमन्त्रीका नीति, प्रशासन तथा सुशासन सल्लाहकार सुदीप ढकालले देशको भविष्यसँग जोडिएका परियोजनाहरूको अवस्था दयनीय देखिएको बताए। उनले परियोजना कार्यान्वयनमा अवरोध गर्ने कारणहरू तत्काल पहिचान गरी सम्बोधन गर्न आग्रह गर्दै “कुन निकाय, कुन व्यक्ति र किन समन्वय हुन सकेन” भन्ने विषय अब कडाइका साथ अनुगमन हुने बताए।
बैठकमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बोर्डको काम, कर्तव्य र अधिकारका साथै स्वीकृत तथा सहजीकरण भइरहेका परियोजनाबारे जानकारी गराएका थिए। उनले १२औँ बैठकका निर्णयहरूको कार्यान्वयन अवस्थाबारे पनि स्पष्ट पारे।
बैठकले परियोजनाको प्रगति तीव्र बनाउने, अवरोध हटाउने र जिम्मेवारी स्पष्ट गर्ने विषयमा केन्द्रित भएर अघि बढ्ने निष्कर्ष निकालेको छ।












