दुबईमा २५७०औँ बुद्ध जयन्ती विशेष कार्यक्रम, विश्व शान्तिको कामना गर्दै नेफिन यूएईको आयोजना – Sagarmathapana:: Online News Portal

दुबईमा २५७०औँ बुद्ध जयन्ती विशेष कार्यक्रम, विश्व शान्तिको कामना गर्दै नेफिन यूएईको आयोजना

   २०८३ बैशाख ८ गते  


दुबई- मध्यपूर्व क्षेत्रमा बढ्दो तनाव र विश्वव्यापी अस्थिरताको बीच नेपाल आदिवासी जनजाति महासंघ, यूएई (नेफिन यूएई) ले २५७०औँ बुद्ध जयन्तीको अवसरमा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रममार्फत विश्व शान्ति, सहअस्तित्व र मानवताको सन्देश फैलाउने उद्देश्य राखिएको आयोजकले जनाएको छ।

नेफिन यूएईका अध्यक्ष भागरथी कुमार भगतका अनुसार हाल विश्वका विभिन्न भागमा भइरहेको द्वन्द्व, हिंसा र युद्धले मानव जीवनमा गम्भीर असर पारिरहेको सन्दर्भमा शान्तिको कामनासहित पूजा–पाठ तथा धार्मिक अनुष्ठान आयोजना गर्न लागिएको हो। विशेषगरी मध्यपूर्वमा बढ्दो युद्धको त्रासले जनमानसमा चिन्ता बढिरहेका बेला यस्तो कार्यक्रमले सकारात्मक सन्देश दिने विश्वास गरिएको छ।


उक्त कार्यक्रम आगामी मे ३, २०२६ (आइतबार) बरदुबईस्थित क्लब Sk7 मा आयोजना हुनेछ। कार्यक्रममा स्थानीय लामा गुरुहरूबाट विशेष पूजा–पाठ, प्रवचन तथा विविध सांस्कृतिक प्रस्तुति रहनेछन्। बुद्ध जयन्तीको अवसरमा गरिने धार्मिक अनुष्ठानमार्फत विश्वमा फैलिएको अशान्ति अन्त्य भई शान्ति स्थापना होस् भन्ने कामना गरिनेछ।

कार्यक्रम राजु मिलु गुरुङको संयोजनमा सञ्चालन हुनेछ भने नेफिन यूएईसँग आबद्ध विभिन्न जातीय संस्थाहरूको सहकार्य रहनेछ। साथै, यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई कार्यक्रममा सहभागी भई शान्तिको पक्षमा ऐक्यबद्धता जनाउन अध्यक्ष भगतले आह्वान गर्नुभएको छ।

यसैबीच, नेवा: पुच: यूएईले पनि यूएईमा रहेका सम्पूर्ण नेवार समुदायलाई मौलिक भेषभूषामा उपस्थित भई भगवान बुद्धको पूजा–पाठमा सहभागी हुन अनुरोध गरेको छ। अन्य जातीय संघसंस्थालाई समेत आफ्नो पहिचान झल्किने सांस्कृतिक प्रस्तुति सहित कार्यक्रममा सहभागी हुन आग्रह गरिएको छ।

कार्यक्रमलाई भव्य बनाउन सांस्कृतिक तयारी तीव्र पारिएको छ। नृत्यतर्फ कलाकार सन्ध्या द्यौला र भजन तथा गायनतर्फ लक्ष्मण श्रेष्ठ र कुमार बलामीको नेतृत्वमा कलाकारहरूलाई प्रशिक्षण दिइँदैछ। आयोजकका अनुसार अघिल्ला वर्षहरूभन्दा फरक र आकर्षक शैलीमा कार्यक्रम प्रस्तुत गरिनेछ।

नेफिन यूएईले बुद्ध जयन्तीलाई केवल धार्मिक पर्वका रूपमा नभई शान्ति, एकता र मानवताको सन्देश फैलाउने अवसरका रूपमा मनाउन लागिएको जनाएको छ। यूएईमा रहेका सम्पूर्ण नेपाली समुदायलाई समय निकालेर कार्यक्रममा सहभागी हुन अपिल गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै