सेयर विवादबारे रवि लामिछानेसँग गृहमन्त्री गुरूङको स्पष्टीकरण
काठमाडौं । सुधन गुरुङ र रवि लामिछाने बीच आइतबार राति भएको भेटवार्तामा गृहमन्त्रीमाथि उठेका सम्पत्ति र सेयर लगानीसम्बन्धी प्रश्नहरूबारे स्पष्टिकरण लिइएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले गृहमन्त्री गुरुङलाई बुढानीलकण्ठस्थित निवासमा बोलाएर सोधपुछ गरेका थिए। स्रोतका अनुसार, गृहमन्त्री गुरुङ आइतबार राति करिब ८ बजे निवास पुगेका थिए।
भेटमा गृहमन्त्री गुरुङले आफूले खरिद गरेको सेयर वैध आयस्रोतबाटै किनेको दाबी गरेका छन्। उनले बैंकिङ कारोबारसम्बन्धी विवरणसमेत प्रस्तुत गर्दै कुनै अवैध क्रियाकलापमा संलग्न नभएको बताएका छन्।
गृहमन्त्री गुरुङमाथि पछिल्लो समय हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्ध देखिएको, तथा मन्त्री बन्नु अघि अल्प अवधिमा ठूलो परिमाणमा सेयर खरिद गरेको आरोप लाग्दै आएको छ। साथै, सार्वजनिक गरिएको सम्पत्ति विवरणमा ती सेयर उल्लेख नगरेको विषयले थप प्रश्न उठाएको छ।
यद्यपि, गुरुङले यसअघि जस्तै पुनः आफू कुनै अवैध कारोबार वा ‘साँठगाँठ’मा नजोडिएको दाबी गरेका छन्। पार्टी स्रोतका अनुसार, उनले नेतृत्वलाई सबै विवरण बुझाउँदै स्पष्टिकरण दिएका छन्।
उता रास्वपाको अनुशासन आयोगले भने यस विषयमा अध्ययन गरिरहेको छ। सोमबार बस्ने केन्द्रीय समिति बैठकमा पनि गृहमन्त्रीसँग सम्बन्धित विवादबारे थप छलफल हुने जनाइएको छ।
पार्टीका एक नेताका अनुसार, “गृहमन्त्रीले दिएको विवरणको अध्ययन भइरहेको छ। यदि गलत देखिए पार्टीले जोगाउने अवस्था रहँदैन।”
गृहमन्त्रीको सचिवालयले पनि उठेका सबै प्रश्नको जवाफ दिने तयारी भइरहेको बताएको छ। सचिवालयका अनुसार, गुरुङमाथि कानुनी रूपमा कुनै आरोप पुष्टि भएको छैन र उनले गलत काम नगरेको दाबी गरिएको छ।












