गृहमन्त्री सुधन गुरुङ को स्पष्टीकरण-‘हल्ला धेरै, तर तथ्य प्रमाणमै छ’
काठमाडौं।गृहमन्त्री सुधन गुरुङ ले आफूमाथि पछिल्लो समय उठिरहेका विभिन्न आरोपबारे विस्तृत स्पष्टीकरण दिएका छन्। सोमबार सामाजिक सञ्जालमार्फत उनले आफ्नो धारणा सार्वजनिक गर्दै आरोपभन्दा तथ्य र प्रमाणलाई आधार बनाउन आग्रह गरेका हुन्।
गुरुङले आफ्नो नाम जोडेर फैलाइएका विषयहरू जटिल ढंगले प्रस्तुत गरिएको भन्दै सरल भाषामा स्पष्ट पार्न आवश्यक ठानेको बताएका छन्। “हल्ला धेरै छन्, तर वास्तविकता बुझ्न जरुरी छ,” उनले उल्लेख गरेका छन्।
उनका अनुसार “२५ लाख रुपैयाँ बराबरको सेयर लुकाइएको” भन्ने आरोप तथ्यहीन हो। उनले धितोपत्र बजारमा कारोबार हुने २ करोडभन्दा बढी मूल्यको सेयर आफ्नो सम्पत्ति विवरणमै खुलाएको स्पष्ट पारेका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रोमा गरिएको लगानी पनि सोही विवरणभित्र समावेश भएको उनको दाबी छ।
सेयर लगानीलाई अपराधको रूपमा प्रस्तुत गरिएकोप्रति आपत्ति जनाउँदै उनले सम्पूर्ण कारोबार बैंकिङ प्रणालीमार्फत भएको र त्यसको स्पष्ट रेकर्ड उपलब्ध रहेको बताएका छन्। लगानीको स्रोतबारे पनि उनले २०८० भदौ २९ गतेको लिखित तमसुकमार्फत ऋण लिएर लगानी गरिएको जानकारी दिएका छन्।
त्यस्तै, “विवादित व्यक्तिसँग साझेदारी” भन्ने आरोपलाई अस्वीकार गर्दै गुरुङले एउटै कम्पनीमा धेरै सेयरधनी हुने भएकाले सेयर किन्नु सबैसँग साझेदारी गर्नु नभएको स्पष्ट पारे। उनले यसलाई चयन गरेर आरोप लगाउने प्रयास भएको टिप्पणी गरेका छन्।
“कन्फ्लिक्ट अफ इन्टरेस्ट” सम्बन्धी प्रश्नमा उनले छानबिन गर्ने अधिकार गृह मन्त्रालयअन्तर्गत नभई अर्थ मन्त्रालयअन्तर्गतको सम्पत्ति शुद्धीकरण विभागमा रहेको बताए। सो निकायले प्रक्रियाअनुसार अनुसन्धान गरिरहेको उल्लेख गर्दै आफूबाट कुनै हस्तक्षेप नभएको दाबी गरे।
गुरुङले लगानीमा जोखिम स्वाभाविक हुने भन्दै पछिका घटनालाई आधार बनाएर अघिको निर्णयलाई दोष दिनु उचित नहुने बताएका छन्। साथै, संवेदनशील विषयमा तत्काल प्रतिक्रिया नदिनु कानुनी रूपमा उपयुक्त हुने उनको भनाइ छ।
अन्त्यमा उनले आरोप र सत्य फरक विषय भएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्नेमा जोड दिएका छन्। पार्टीले गर्ने निर्णयको पूर्ण पालना गर्ने र अनुसन्धानमा आवश्यक सहयोग गर्न तयार रहेको उनले प्रतिबद्धता व्यक्त गरेका छन्।












