ककनीमा रैथाने खाना प्रवर्द्धन कार्यक्रम सम्पन्न, पाककला व्यक्तित्वहरू सम्मानित
काठमाडौं, रैथाने खानाको संरक्षण, प्रवर्द्धन र यसको आर्थिक तथा पर्यटन सम्भावनालाई उजागर गर्ने उद्देश्यले “रैथाने खाना प्रवर्द्धन तथा सञ्चारकर्मीहरूसँग प्राकृतिक भोजन कार्यक्रम” शनिबार ककनीमा सम्पन्न भएको छ।
ग्लोरी मिडिया र न्युजलाईन्स मिडियाको संयुक्त आयोजनामा भएको कार्यक्रममा पाककला क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएका सोल्टी ग्रुपका कर्पोरेट एक्जुकेटिभ सेफ युवराज पोख्रेल, वरिष्ठ सेफ मोहन गजुरेल, नेपाल सेफ एसोसिएसनका निवर्तमान अध्यक्ष रेशम लामा तथा अष्ट्रेलियामा कार्यरत प्रवासी सेफ सुवास थापालाई “पाककला गौरव सम्मान” प्रदान गरिएको थियो। साथै, विभिन्न क्षेत्रमा योगदान पुर्याएका व्यक्तित्वहरूलाई कदरपत्र समेत प्रदान गरिएको थियो।


कार्यक्रमका प्रमुख अतिथि अन्तर्राष्ट्रिय चेम्बर अफ कमर्स–नेपालका अध्यक्ष राजेशकाजी श्रेष्ठले रैथाने खानाको अन्तर्राष्ट्रिय सम्भावनालाई औंल्याउँदै स्थानीय परिकारको प्रभावकारी ब्रान्डिङ आवश्यक रहेको बताए। उनका अनुसार, “रैथाने खाना नेपालको पर्यटन प्रवर्द्धनको महत्वपूर्ण आधार बन्न सक्छ।”
विशिष्ट अतिथि गैरआवासीय नेपाली संघकी पूर्व अध्यक्ष रविना थापाले प्राकृतिक तथा रैथाने खानाको स्वास्थ्यसँगको गहिरो सम्बन्धबारे प्रकाश पार्दै यसलाई आधुनिक अस्वस्थ खानाको विकल्पका रूपमा अघि बढाउनुपर्ने धारणा व्यक्त गरिन्।


आयोजक संस्थाका तर्फबाट ग्लोरी मिडियाका अध्यक्ष सरोज ओझाले रैथाने खाना नेपालको सांस्कृतिक पहिचान भएको उल्लेख गर्दै यसको संरक्षण र प्रवर्द्धन आजको आवश्यकता भएको बताए। उनले सञ्चारमाध्यमले यस अभियानलाई जनस्तरसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
नेपाल चेम्बर अफ कमर्सका महानिर्देशक देवेन्द्र लामिछानेले देशका विभिन्न भूगोलमा फरक–फरक विशेषता बोकेका खानाहरू रहेको उल्लेख गर्दै ती परिकारहरूको व्यवस्थित प्रवर्द्धन आवश्यक रहेको बताए। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडका सहायक प्रमुख कार्यकारी अधिकृत ब्रजेश कुमार झाले रैथाने खानाको विकासले स्थानीय उत्पादन र रोजगारीमा सकारात्मक प्रभाव पार्ने धारणा राखे।


पर्यटन व्यवसायी रामप्रसाद सापकोटाले रैथाने खाना आन्तरिक तथा बाह्य पर्यटनका लागि आकर्षण बन्न सक्ने बताए भने युवा उद्यमी तारालाल धरेलले यसलाई आधुनिक प्रस्तुतीकरणसँग जोडेर व्यवसायिक विस्तार गर्न सकिने सम्भावनाबारे अनुभव साझा गरे।
रैथाने अभियन्ता तिलक ढकालले रैथाने खाना स्वास्थ्यकर र पोषणयुक्त हुने बताउँदै यसले समाजलाई स्वस्थ बनाउन योगदान पुर्याउने उल्लेख गरे। कार्यक्रममा न्युजलाईन्स मिडियाकी सरिता ढकालले रैथाने खानाको प्रवर्द्धनमा निरन्तर अभियान सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
न्युजलाईन्स मिडियाका अध्यक्ष राजु भट्टको संयोजनमा सम्पन्न कार्यक्रममा वरिष्ठ सेफ मोहन गजुरेलले विभिन्न रैथाने परिकारहरूको आकर्षक प्रदर्शनी गरेका थिए। सहभागीहरूलाई प्राकृतिक भोजनको स्वाद समेत चखाइएको थियो।
कार्यक्रममा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्व, व्यवसायी, सेफ तथा सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।












