प्रधानमन्त्री बालेन शाहद्वारा मुख्यमन्त्रीहरूसँग पहिलो सामूहिक छलफल, विकास र स्रोत बाँडफाँटमा जोड
काठमाडौं।प्रधानमन्त्री बालेन शाह ले प्रदेशका मुख्यमन्त्रीहरूसँग पहिलोपटक सामूहिक छलफल गर्नुभएको छ। पदभार सम्हालेपछि पहिलो पटक आयोजित उक्त बैठकमा केन्द्र–प्रदेश समन्वयलाई प्रभावकारी बनाउने विषयमा विशेष जोड दिइएको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न छलफलमा विकास निर्माणका कार्यलाई तीव्रता दिने, उपलब्ध स्रोत–साधनको समुचित र न्यायोचित बाँडफाँट सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।


बैठकमा मुख्यमन्त्रीहरूले आफ्नो प्रदेशमा देखिएका बजेट अभाव, कर्मचारी व्यवस्थापन, कानुनी जटिलता तथा विकास आयोजना कार्यान्वयनमा देखिएका अवरोधहरूबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए।
प्रधानमन्त्री शाहले संघीय संरचनालाई बलियो बनाउन केन्द्र र प्रदेशबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गर्दै समस्याको व्यावहारिक समाधान खोज्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले विकासलाई परिणाममुखी बनाउन सबै तहबीच समन्वय आवश्यक रहेकोमा जोड दिनुभयो।

छलफललाई नियमित बनाउँदै प्रदेशहरूको समस्या समाधानका लागि ठोस कदम चाल्ने सहमति समेत भएको जनाइएको छ।
बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिम्मतबहादुर कार्की, मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्रप्रसाद सोनार, बाग्मती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलको उपस्थिति रहनेछ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह भने स्वास्थ्य उपचारको क्रममा भारतमा रहेका छन् ।












