सातौँ संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ सम्पन्न
काठमाडौं।सातौँ संस्करणको सगरमाथा म्युजिक अवार्ड २०८२ भव्य रूपमा सम्पन्न भएको छ।
‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नारासहित अर्थ नेपाल प्रालिको आयोजनामा अवार्ड काठमाडौंको राष्ट्रिय नाचघर, जमलमा सम्पन्न भएको हो।
कार्यक्रममा वरिष्ठ सितार वादिका विजया शर्मालाई सगरमाथा लाइफटाइम अचिभमेन्ट अवार्डअन्तर्गत नगद रु. १७,६९६ सहित सम्मान गरिएको छ। सम्मान प्रमुख अतिथि गणतन्त्र नेपालका प्रथम उपराष्ट्रपति परमानन्द झा, रिलायन्स फाइनान्सका डेपुटी सीईओ रामहरी आचार्य, जुरी संयोजक सन्तोष श्रेष्ठ, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत र कार्यक्रम संयोजक मनोज थापाले प्रदान गरेका थिए।


त्यसैगरी ध्रुव लम्साललाई सगरमाथा कला पत्रकारिता रजत सम्मानस्वरूप नगद रु. ८,८४८ सहित सम्मान गरिएको छ। सगरमाथा रेडियो पत्रकारिता सम्मान शिरोमणि दवाडीलाई प्रदान गरिएको थियो।
कार्यक्रममा विभिन्न विधामा समेत सम्मान प्रदान गरिएको थियो। जसअन्तर्गत सगरमाथा संगीत सम्मान गीतकार खेमनाथ दाहाल, सगरमाथा समाजसेवा सम्मान रामराजा थापा, सगरमाथा सम्मान राजेन्द्र लुइँटेल (अध्यक्ष, कार्यक्रम व्यवस्थापक संघ), सगरमाथा संगीत सम्मान गीतकार लोकराज अधिकारी, सगरमाथा कला सम्मान अश्विनी झा र राजन बुढाथोकी तथा सगरमाथा सम्मान राजेन्द्र थापा मगरलाई प्रदान गरिएको थियो।


अवार्डको निर्णायक समितिको संयोजकमा कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ रहेका थिए भने सदस्यहरूमा साहित्यकार मालिका केशरी (प्रकाश श्रेष्ठ), कलाकार सनम कठायत, चलचित्रकर्मी देवेन्द्र बजगाई, लोक गायक कुलेन्द्र विक, गायक हेमन्त कान्छा रसाईली र गीतकार सामना शाह रहेका थिए।
कार्यक्रमलाई महालक्ष्मी विकास बैंक, ज्योति विकास बैंक, रिलायन्स फाइनान्स, एराउण्ड द हिमालय प्रा.लि., नेपा टप, ग्लोबल ट्राभल्स सर्भिस प्रा.लि. र वरेन्ज बल प्रा.लिले प्रायोजन गरेका थिए। भोटिङ पार्टनरमा खल्ती रहेको थियो। कार्यक्रमको प्रत्यक्ष प्रसारण मेगा टिभीले गरेको थियो।
कार्यक्रममा नेपाली गीत–संगीत क्षेत्रका चर्चित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
अवार्ड विजेताहरू (संक्षिप्त रूपमा सम्पादित):
१. सर्वोत्कृष्ट चलचित्र गायन:
बेनीशा पौडेल – ‘बिहे भाको छैन’ (छक्का पञ्जा ५)
२. सर्वोत्कृष्ट चलचित्र गीतकार:
ऋषिराज आचार्य – ‘कर्णाली काटौला’ (द्रौपदी)
३. सर्वोत्कृष्ट चलचित्र संगीतकार:
आशिष अविरल – ‘रैया चाँदीको’ (पूर्ण बहादुरको सारंगी)
४. सर्वोत्कृष्ट पप/आधुनिक गायक:
सीडी विजय अधिकारी – ‘सोल्टीनी’
५. पप/आधुनिक गायक (पब्लिक च्वाइस):
रुद्र शेखर शर्मा – ‘के छ ओई सान्नानी’
६. सर्वोत्कृष्ट पप/आधुनिक गायिका:
निता आचार्य – ‘ताँते गर्दै’
७. सर्वोत्कृष्ट पप/आधुनिक गीतकार:
डा. रमिल अधिकारी – ‘आउ एउटा बाँचा गरौं’
८. पप/आधुनिक गीतकार (जुरी):
रोहन पौडेल (जनक) – ‘जेल पनि सहुँला’
९. सर्वोत्कृष्ट पप/आधुनिक संगीतकार:
जीवन शर्मा – ‘निर्वाध मन’












