कोशी उद्योग वाणिज्य महासङ्घमा राउत पुनः अध्यक्ष निर्वाचित
विराटनगर। नेपाल उद्योग वाणिज्य महासङ्घ (कोशी प्रदेश) को अध्यक्षमा राजेन्द्र राउत पुनः निर्वाचित भएका छन्। आइतबार राति विराटनगरमा सम्पन्न महासङ्घको आठौँ प्रदेशसभाबाट राउत नेतृत्वको प्यानल नै विजयी भएको हो।
अध्यक्षका प्रतिस्पर्धी नवीन रिजाल लाई राउतले ८४ मतान्तरले पराजित गरेका छन्। राउतले १४२ मत प्राप्त गर्दा रिजाल ५८ मतमा सीमित भए। यसअघि तीन वर्षअघि झापामा भएको निर्वाचनमा राउत निर्विरोध अध्यक्ष बनेका थिए।

मतपरिणामअनुसार वस्तुगततर्फ राउतले ११ मत र रिजालले ६ मत पाए। जिल्ला–नगरतर्फ राउतले २४ मत ल्याउँदा रिजालले १३ मत प्राप्त गरे। यस्तै एसोसिएटतर्फ राउतले १०७ मत पाउँदा रिजाल ३९ मतमा सीमित भए।
शिवम् अर्गनाइजेसनका अध्यक्षसमेत रहेका राउत महासङ्घ कोशीका संस्थापक सदस्य हुन्। उनको कार्यकालमा प्रदेश कार्यालय भवन निर्माणको काम अघि बढिरहेको छ। प्रतिस्पर्धी रिजाल भने महासङ्घका केन्द्रीय सदस्य हुन्।

महासङ्घ कोशी प्रदेश समितिको नयाँ कार्यसमितिमा अध्यक्षबाहेक चार पदाधिकारी निर्विरोध चयन भएका छन्। जिल्ला–नगरतर्फ उपाध्यक्षमा ऋषिराज तिम्सिना, वस्तुगततर्फ उपाध्यक्षमा राजन श्रेष्ठ, एसोसिएट्स उपाध्यक्षमा रविनकुमार दाहाल र कोषाध्यक्षमा श्रवणकुमार अग्रवाल चयन भएका छन्।

यसैगरी, एसोसिएट्स सदस्यमा देवकीनन्दन अग्रवाल र भविशकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन्। जिल्ला–नगरतर्फ सदस्यमा कृष्णप्रसाद रिजाल, राजु ढुङ्गाना राजीव, जयप्रकाश शर्मा, हर्कबहादुर श्रेष्ठ र नवीनकुमार चौधरी विजयी भएका छन् भने वस्तुगततर्फबाट सुवास आचार्य र दीपक पाण्डे निर्वाचित भएका छन्।
महासङ्घ कोशीमा जिल्ला–नगर उद्योग वाणिज्य सङ्घबाट ३८, वस्तुगत सङ्घसंस्थाबाट १९ र एसोसिएट्सबाट १४८ गरी कुल २०५ जनाले मतदान गरेका थिए।












