ओखलढुंगा अस्पतालमा सेवाहरू बन्द, प्रतिक्रिया लिन खोज्दा प्रशासन मौन
काठमाडौं।ओखलढुंगा सामुदायिक अस्पतालमा कार्यरत कर्मचारी संगठनले सुरक्षा अभावको कारण देखाउँदै आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको जनाएको छ।
कर्मचारी संगठनद्वारा जारी प्रेस विज्ञप्ति अनुसार फागुन २६ गते बेलुका करिब ७:४५ बजे अत्यधिक पेट दुखाइको समस्या लिएर आएका बिरामी यज्ञबहादुर कटवालको उपचारका क्रममा मृत्यु भएको थियो। अस्पतालका चिकित्सकहरूले भरपूर प्रयास गर्दा पनि बिरामीलाई बचाउन नसकिएको विज्ञप्तिमा उल्लेख छ।
बिरामीको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पतालमा धर्ना कार्यक्रम गर्ने तथा चिकित्सक सहित स्वास्थ्यकर्मीमाथि भौतिक आक्रमण गर्ने चुनौती दिएको कर्मचारी संगठनको दाबी छ। सो घटनापछि चिकित्सक तथा स्वास्थ्यकर्मीहरूले असुरक्षित महसुस गरेको जनाउँदै पूर्ण सुरक्षाको प्रत्याभूति नहुँदासम्म आकस्मिक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने निर्णय गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ।
यस विषयमा थप जानकारी लिन सगरमाथापानाले अस्पताल प्रशासनसँग प्रतिक्रिया लिन खोज्दा समाचार तयार पार्दासम्म कुनै आधिकारिक प्रतिक्रिया प्राप्त हुन सकेन।
कर्मचारी संगठनले सेवाग्राही, प्रशासन तथा सम्बन्धित सरोकारवाला हरूलाई जानकारी गराउन उक्त प्रेस विज्ञप्ति जारी गरिएको जनाएको छ।
ईश्वरी अधिकारी,ओखलढुङ्गा.













