पोखरामा ‘कुमारी’ लाइभ म्युजिकल कन्सर्ट भव्य, ७ हजार दर्शकको उत्साहजनक सहभागिता – Sagarmathapana:: Online News Portal

पोखरामा ‘कुमारी’ लाइभ म्युजिकल कन्सर्ट भव्य, ७ हजार दर्शकको उत्साहजनक सहभागिता

   २०८२ माघ ६ गते  

काठमाडौँ।माघ २३ गतेबाट देशभर प्रदर्शनमा आउन लागेको प्रतीक्षित नेपाली चलचित्र ‘कुमारी’ को प्रवर्द्धनका लागि शनिवार साँझ पोखराको हल्लनचोकमा आयोजित ‘कुमारी लाइभ म्युजिकल कन्सर्ट विथ केहर एन्ड द लुङा’ भव्य रूपमा सम्पन्न भएको छ।

नेपालगन्जबाट सुरु भएको देशव्यापी साङ्गीतिक यात्राको दोस्रो गन्तव्य पोखरामा आयोजित उक्त कन्सर्टमा करिब ७ हजार दर्शकको उल्लेखनीय उपस्थिति रहेको थियो, जसले कार्यक्रमलाई थप रौनक दिएको थियो।

कन्सर्टमा चलचित्रका प्रमुख कलाकार अबिशेक खड्का र आकृति राजभण्डारी स्टेजमा देखा पर्दा दर्शकको हुटिङ र तालीले माहौल रोमाञ्चक बनेको थियो। उनीहरूले चर्चित गीत ‘डोको बुन्ने निगाली चोयाले’ मा प्रत्यक्ष नृत्य प्रस्तुत गर्दा दर्शकहरू झन् उत्साहित देखिन्थे। कलाकार द्वयले पोखरेली दर्शकले देखाएको मायाप्रति आभार व्यक्त गर्दै माघ २३ गतेदेखि हलमा लाग्ने चलचित्र ‘कुमारी’ हेर्न आग्रह गरे।

साङ्गीतिक प्रस्तुति थप सशक्त बनाउँदै पार्श्व गायक केहर सिं लिम्बु र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ ले चलचित्रका गीत ‘डोको बुन्ने…’, ‘कता छौ मेरो फूल’ र ‘तिमी बिना’ सँगै आफ्ना लोकप्रिय सिर्जनाहरू ‘सरर’ र ‘बैगुनी’ प्रस्तुत गरेका थिए। चलचित्रका सबै गीतमा स्वर दिएका केहर र उनको ब्यान्डको प्रस्तुतीमा पोखरेली दर्शकहरू खुलेर झुमेका थिए।

पोखरामा चलचित्र र कलाकारहरूप्रति देखिएको क्रेजप्रति आफू निकै उत्साहित भएको निर्देशक दिनेश राउत ले बताए। स्टेजबाटै दर्शकलाई धन्यवाद दिँदै उनले दर्शकको यो साथले चलचित्रप्रति थप ऊर्जा र उत्साह मिलेको उल्लेख गरे।

विनिश इन्टरटेन्मेन्टको ब्यानरमा महेन्द्र अधिकारी द्वारा निर्मित चलचित्र ‘कुमारी’ को टोली अब माघ ६ गते चितवन, माघ १० गते काठमाडौँ र माघ १७ गते झापा (दमक) मा प्रस्तुति दिने तयारीमा छ। साथै, माघ १० गते काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने विशेष कन्सर्टमार्फत चलचित्रको आधिकारिक ट्रेलर सार्वजनिक गर्ने तयारी निर्माण पक्षले गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै