एमटीएम एण्ड एलएलटीएम २०२६ मा नेपाल पर्यटन बोर्डको प्रभावकारी उपस्थिति भारतको माइस र वेडिङ बजारमा नेपाल प्रवर्द्धन
नयाँ दिल्ली।भारतलाई प्रमुख स्रोत बजारका रूपमा केन्द्रमा राख्दै नेपाल पर्यटन बोर्डले भारतका ट्राभल, कर्पोरेट तथा माइस (मिटिङ, इन्सेन्टिभ, कन्फरेन्स र एक्जिबिसन) क्षेत्रका निर्णयकर्तासँग प्रत्यक्ष संवाद विस्तार गरेको छ।
जनवरी ८–९ मा पुलम्यान नयाँ दिल्ली एरोसिटीमा सम्पन्न एमटीएम तथा एलएलटीएम २०२६ मा फोकस पार्टनरका रूपमा सहभागी हुँदै बोर्डले नेपालको कर्पोरेट, माइस तथा वेडिङ पर्यटन सम्भावनाबारे प्रभावकारी प्रस्तुति दिएको हो।


कार्यक्रममा छानिएका कर्पोरेट बायर, प्रतिष्ठित ब्रान्ड तथा वरिष्ठ नेतृत्वको सहभागिता रहेको थियो। ‘रिभर्स मार्केटप्लेस’ अवधारणाअन्तर्गत बायर र सेलरबीच वन–अन–वन भेटघाट हुँदै लक्षित नेटवर्किङ र भविष्यकेन्द्रित छलफल गरिएको आयोजकले जनाएको छ।
नेपाल पर्यटन बोर्डले यस अवसरमा भारतका कर्पोरेट तथा माइस निर्णयकर्तासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्दै व्यापारिक सम्बन्ध विस्तार र गन्तव्यप्रति विश्वास अभिवृद्धि गर्न सफल भएको जनाएको छ।


गन्तव्य प्रस्तुतीकरणमार्फत नेपाललाई इन्सेन्टिभ ट्राभल, कन्फरेन्स, एक्सपेरिएन्सियल ट्राभल तथा वेडिङ–केन्द्रित यात्राका लागि आकर्षक गन्तव्यका रूपमा प्रवर्द्धन गरिएको थियो। भारत नेपालका लागि प्रमुख पर्यटक स्रोत बजार भएकाले यस्ता रणनीतिक सहभागिताले दीर्घकालीन पर्यटन वृद्धिमा टेवा पुग्ने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले विश्वास व्यक्त गरे।
कार्यक्रमको दोस्रो दिन आयोजित ‘एमटीएम स्टार अवार्ड्स फर वेडिङ प्लानर्स’ ले भारतको वेडिङ तथा सेलिब्रेशन इकोनोमीमा उत्कृष्ट योगदान दिने संस्थाहरूलाई सम्मान गरेको थियो। यस अवसरमा नेपालले वेडिङ तथा डेस्टिनेशन सेलिब्रेशन पर्यटनमा आफ्नो उपस्थितिलाई अझ सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
नेपाल पर्यटन बोर्डका अनुसार एमटीएम र एलएलटीएमजस्ता लक्षित अन्तर्राष्ट्रिय प्लेटफर्ममार्फत भारतसँगको पर्यटन सहकार्य थप मजबुत हुँदै जाने र नेपाललाई कर्पोरेट, माइस तथा वेडिङ पर्यटनको उदीयमान गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुग्नेछ।












