सन् २०२५ मा अन्तर्राष्ट्रिय पर्यटक आगमन करिब ११ लाख ५८ हजार
काठमाडौं।सन् २०२५ (जनवरी–डिसेम्बर) अवधिमा नेपालमा ११ लाख ५८ हजार ४५९ जना अन्तर्राष्ट्रिय पर्यटक (International Visitors Arrivals – IVAs) आगमन भएका छन्।यो संख्या सन् २०२४ को तुलनामा केही वृद्धि भएको हो भने कोभिड–१९ महामारी अघिको सन् २०१९ को स्तरको ९७ प्रतिशत वृद्धि भएको देखिएको छ ।


सन् २०२५ को डिसेम्बर महिनामा मात्र ९८ हजार १९० जना अन्तर्राष्ट्रिय पर्यटक नेपाल आएका छन् । यो संख्या सन् २०२४ को डिसेम्बर महिनाको तुलनामा ७ प्रतिशतले बढी हो । साथै, डिसेम्बर २०१९ को पूर्व–महामारी अवधिको तुलनामा पनि ९७ प्रतिशत वृद्धि भएको तथ्यांकले देखाएको छ ।
भारत शीर्ष पर्यटक स्रोत मुलुक
सन् २०२५ मा नेपाल भ्रमण गर्ने पर्यटकमध्ये भारत शीर्ष स्थानमा रहेको छ । भारतबाट २ लाख ९२ हजार ४३८ जना (२५.२ प्रतिशत) पर्यटक नेपाल आएका छन् ।
शीर्ष ५ पर्यटक स्रोत मुलुक यस प्रकार छन्:
- भारत: २,९२,४३८ (२५.२%)
- अमेरिका: १,१२,३१६ (९.७%)
- चीन: ९५,४८० (८.२%)
- बेलायत: ५८,६८४ (५.१%)
- बंगलादेश: ५७,५४५ (५.०%)
दक्षिण एशियाबाट सबैभन्दा बढी आगमन
क्षेत्रगत रूपमा हेर्दा दक्षिण एशिया (SAARC) क्षेत्रबाट सबैभन्दा बढी पर्यटक नेपाल आएका छन् । सन् २०२५ मा दक्षिण एशियाबाट ४ लाख ८ हजार १०३ जना (३५.२ प्रतिशत) पर्यटक आगमन भएका छन् ।
क्षेत्रगत पर्यटक वितरण:
- दक्षिण एशिया (SAARC): ४,०८,१०३ (३५.२%)
- अन्य एशिया: २,५३,३११ (२१.९%)
- युरोप: २,२१,०१८ (१९.१%)
- अमेरिका: १,३५,५०३ (११.७%)
- ओसनिया: ५३,६९५ (४.६%)
- मध्यपूर्व: २०,५०४ (१.८%)
- अफ्रिका: ४,३२० (०.४%)
- अन्य: ६२,००५ (५.५%)
पर्यटनबाट विदेशी मुद्रा आम्दानी र लगानीमा उत्साहजनक वृद्धि
पर्यटन क्षेत्रबाट हुने आर्थिक सूचकहरू पनि सकारात्मक देखिएका छन् । आर्थिक वर्ष ८२/८३ (श्रावणदेखि कार्तिक) सम्म पर्यटनबाट २७ अर्ब १५ करोड २५ लाख ५० हजार रुपैयाँ विदेशी मुद्रा आम्दानी भएको छ ।
त्यसैगरी, आर्थिक वर्ष ८२/८३ को श्रावणदेखि मंसिरसम्म पर्यटन क्षेत्रमा ४७६ परियोजनामार्फत ३० अर्ब २६ करोड ३० लाख रुपैयाँ बराबरको वैदेशिक प्रत्यक्ष लगानी (FDI) प्रतिबद्धता प्राप्त भएको छ ।
पर्यटक आगमन, विदेशी मुद्रा आम्दानी र लगानीका यी तथ्यांकले नेपालको पर्यटन क्षेत्र पूर्व–कोभिड अवस्थामा पुनः फर्किंदै गएको संकेत गरेका छन् ।














