सरकारद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याइँदै – Sagarmathapana:: Online News Portal

सरकारद्वारा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सञ्चालनमा ल्याइँदै

   २०८२ पुष १७ गते  

काठमाडौं-सरकारले विदेशी नागरिकको गतिविधि, सुरक्षा तथा नेपालमा रहने अवधिलाई व्यवस्थित र सुरक्षित बनाउन विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली (Foreign Nationals Management Information System-FNMIS) सञ्चालनमा ल्याउने भएको छ।

नेपालमा प्रवेश गर्ने विदेशी नागरिकबाट हुन सक्ने नेपाल विरोधी गतिविधि रोकथाम गर्नुका साथै उनीहरू नेपाल भ्रमणका क्रममा सामना गर्न सक्ने सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै यस्तो प्रणाली सञ्चालन गर्न लागिएको अध्यागमन विभागले जनाएको छ। प्रणालीमार्फत विदेशी नागरिकको यात्रा अवधिलाई सुरक्षित, भरपर्दो र पारदर्शी बनाउने उद्देश्य राखिएको विभागको भनाइ छ।

अध्यागमन विभागका अनुसार उक्त प्रणाली आगामी जनवरी १ तारिखदेखि औपचारिक रूपमा सञ्चालनमा आउनेछ। प्रणाली सञ्चालनमा आएपछि होटल, ट्राभल एजेन्सी, ट्रेकिङ एजेन्सी, विदेशी मुद्रा सटही केन्द्र, आन्तरिक हवाई सेवा प्रदायक, टुर गाइड एशोसिएसन, पर्वतारोहण संघलगायत विभिन्न पर्यटकीय तथा सेवा प्रदायक निकायहरूले विदेशी नागरिकसम्बन्धी विवरण प्रणालीमार्फत अद्यावधिक गर्नेछन्।

प्रणाली प्रभावकारी रूपमा लागू गर्न अध्यागमन विभागले सम्बन्धित निकायहरूलाई तीन चरणमा अभिमुखीकरण, छलफल तथा सहजीकरण कार्यक्रम सञ्चालन गरिसकेको जनाएको छ।

विदेशी नागरिक नेपाल प्रवेश गर्दा अध्यागमनमा दर्ता भएपछि उनीहरूको विवरण स्वतः प्रणालीमा समावेश भई सम्बन्धित सेवा प्रदायक निकायसम्म पुग्ने व्यवस्था गरिएको छ। यसले विदेशी नागरिकको आवागमन, बसाइँ तथा गतिविधिको निगरानीलाई थप सहज बनाउने अपेक्षा गरिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै