पर्यटन ब्रान्डिङ सशक्त बनाउन रुपन्देहीमा फोटो पत्रकारिता तालिम सुरु – Sagarmathapana:: Online News Portal

पर्यटन ब्रान्डिङ सशक्त बनाउन रुपन्देहीमा फोटो पत्रकारिता तालिम सुरु

   २०८२ पुष ८ गते  

रुपन्देही।लुम्बिनी प्रदेशका पर्यटकीय गन्तव्यहरूको प्रभावकारी प्रवर्द्धन गर्ने उद्देश्यले रुपन्देहीमा पर्यटन फोटो पत्रकारिता तालिम सुरु भएको छ। नेपाल पर्यटन बोर्ड (एनटीबी) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को सहकार्यमा सञ्चालित दिगो पर्यटन परियोजना (एसटीपी) अन्तर्गत राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासंघ रुपन्देही शाखाको सहकार्यमा सोमबारदेखि दुईदिने तालिम आयोजना गरिएको हो।

क्यामेराको लेन्समार्फत लुम्बिनी प्रदेशका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको एसटीपीका प्रबन्धक धर्मराज दवाडीले जानकारी दिए। उनले लुम्बिनी केवल बुद्ध जन्मस्थलमा सीमित नभई संस्कृति, इतिहास, प्रकृति र समुदायसँग जोडिएका अनेकौँ पर्यटन कथाहरूको केन्द्र भएको उल्लेख गर्दै ती कथालाई प्रभावकारी दृश्य माध्यममार्फत प्रस्तुत गर्न फोटो पत्रकारहरूको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए।

दवाडीले दिगो पर्यटन विकासमा मिडियाको भूमिका अझ सशक्त बन्दै गएको उल्लेख गर्दै यस्तो तालिमले स्थानीय गन्तव्यलाई विश्व पर्यटन बजारसम्म पुर्‍याउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

कार्यक्रममा राष्ट्रिय फोटो पत्रकार समूह नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारितालाई पर्यटन प्रवर्द्धनको मेरुदण्डका रूपमा व्याख्या गरे। उनले लुम्बिनी, कपिलवस्तु, पाल्पा, नवलपरासी र बर्दिया लगायतका क्षेत्रका कथा क्यामेरामार्फत प्रस्तुत गर्दा त्यसले नेपालको पर्यटन छविलाई विश्वस्तरमा मजबुत बनाउने बताए। साथै, तालिमले ओझेलमा परेका गन्तव्य, संस्कृति र समुदायका कथालाई उजागर गर्न मद्दत गर्ने उनको भनाइ थियो।

तालिममा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधार, बोर्डको प्रवर्द्धन रणनीति तथा दृश्य कथाको प्रभावकारिताबारे प्रशिक्षण दिएका छन्। त्यस्तै, प्रशिक्षक सुनिल चुडामणि बज्राचार्यले फोटो पत्रकारिताको इतिहास, प्राविधिक पक्ष, फोटो फिचर तथा तस्बिर कथाको संरचनाबारे सहभागीलाई जानकारी गराए।

तालिमको दोस्रो दिन सहभागीहरूलाई तस्बिर कथाको व्यवहारिक अभ्यासका लागि फिल्ड भिजिट गराइने कार्यक्रम रहेको छ। तालिममा लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट आएका करिब ३० जना फोटो तथा पर्यटन पत्रकारको सहभागिता रहेको छ।

तालिम संयोजक तथा एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठले यस प्रशिक्षणले लुम्बिनी प्रदेशका नयाँ तथा स्थापित पर्यटकीय गन्तव्यहरूको दृश्य अभिलेखन, गन्तव्य ब्रान्डिङ र स्थानीय पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरे।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै