नेपाल पत्रकार महासंघ गण्डकीको १० बुँदे ‘पोखरा घोषणापत्र’ जारी पत्रकारको सुरक्षा,न्यूनतम पारिश्रमिक र प्रेस स्वतन्त्रताको माग – Sagarmathapana:: Online News Portal

नेपाल पत्रकार महासंघ गण्डकीको १० बुँदे ‘पोखरा घोषणापत्र’ जारी पत्रकारको सुरक्षा,न्यूनतम पारिश्रमिक र प्रेस स्वतन्त्रताको माग

   २०८२ पुष ६ गते  

पोखरा।नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको आयोजनामा पोखरामा सम्पन्न ११ जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षहरूको प्रदेश भेलाले १० बुँदे ‘पोखरा घोषणापत्र’ जारी गरेको छ। पुस ४ र ५ गते सम्पन्न भेलाले पत्रकारको पेसागत सुरक्षा, न्यूनतम पारिश्रमिकको सुनिश्चितता र प्रेस स्वतन्त्रताको संरक्षणका लागि सामूहिक ऐक्यबद्धता व्यक्त गरेको हो।

घोषणापत्रमा नेपाली पत्रकारिता क्षेत्र गहिरो आर्थिक संकटमा परेको निष्कर्ष निकाल्दै मिडिया हाउसको आम्दानी घट्नु, विज्ञापन बजार असन्तुलित हुनु र राज्यको नीतिगत उदासीनताले पत्रकारको जीविकोपार्जन असुरक्षित बनेको उल्लेख गरिएको छ।

भेलाले संघ, प्रदेश र स्थानीय सरकारलाई पत्रकारिता क्षेत्रलाई सार्वजनिक सरोकारको रणनीतिक क्षेत्रका रूपमा स्वीकार गर्न आग्रह गरेको छ। श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक र सामाजिक सुरक्षा कोषको प्रभावकारी कार्यान्वयनको सुनिश्चितता गर्नुपर्ने माग समेत घोषणापत्रमा समेटिएको छ। प्रदेश तथा स्थानीय तहले पत्रकार कल्याण, विज्ञापन नीति र सञ्चार कार्यविधिलाई व्यवहारिक र सहज बनाउँदै सूचना तथा विज्ञापनमा स्थानीय मिडियालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।

नयाँ पुस्तालाई पत्रकारितामा आकर्षित गर्न र कार्यरत पत्रकारलाई पेसामा टिकाइराख्न सुरक्षित आम्दानी, करियर विकास र प्रविधिमा लगानी अपरिहार्य भएको भेलाको ठहर छ। साथै, मिथ्या तथा भ्रामक सूचनाको जोखिम बढ्दै गएकाले पत्रकारले तथ्य जाँच, स्रोतको विश्वसनीयता र पेसागत आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्ने उल्लेख गरिएको छ।

संघीय सरकारबाट उपलब्ध गराइने लोककल्याणकारी विज्ञापन र पत्रिका वर्गीकरण प्रणालीलाई पारदर्शी र मिडियामैत्री बनाउन तथा विज्ञापन बोर्डको काम सहजीकरणमुखी र विश्वसनीय बनाउन माग गरिएको छ। गण्डकी प्रदेशभित्र सञ्चार माध्यमको दर्ता र नवीकरण प्रदेशकै प्रेस रजिस्ट्रार कार्यालय वा जिल्ला हुलाक कार्यालयमार्फत गर्न सकिने व्यवस्था मिलाउनुपर्ने माग पनि घोषणापत्रमा समावेश छ।

प्रदेश सरकारले उपलब्ध गराउने लोककल्याणकारी विज्ञापनको रकम न्यून र कार्यविधि झन्झटिलो भएकाले तत्काल परिमार्जन गर्न आग्रह गरिएको छ। साथै, जनआन्दोलनका क्रममा क्षति पुगेका पत्रकार र मिडिया हाउसलाई उचित क्षतिपूर्ति दिन र संविधानको रक्षा सुनिश्चित हुने गरी भयरहित निर्वाचन गर्न सरकार तथा राजनीतिक दललाई आग्रह गरिएको छ।

पर्यटन प्रवर्धनमा पत्रकारिताले सक्रिय भूमिका खेल्ने प्रतिबद्धता जनाउँदै त्यसका लागि आवश्यक पूर्वाधार र अनुकूल वातावरण निर्माणमा सरकारको ध्यानाकर्षण गराइएको छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले महासंघ पत्रकारको हकहित र स्वतन्त्र पत्रकारिताको संरक्षणका लागि निरन्तर क्रियाशील रहेको बताइन्। वरिष्ठ उपाध्यक्ष दीपक आचार्यले सरकार फेरिए पनि मिडियाप्रतिको दृष्टिकोणमा परिवर्तन नआएको टिप्पणी गरे। महासचिव रामप्रसाद दाहालले जिल्ला र प्रदेशको सक्रियताले महासंघलाई बलियो बनाएको धारणा राखे।

प्रदेश अध्यक्ष रमेश पौडेलको सभापतित्वमा भएको कार्यक्रममा केन्द्रीय सदस्यहरू छविलाल तिवारी, कृष्ण केसी र केबी राणाले शुभकामना व्यक्त गरे। पहिलो दिन पत्रकार भरत कोइरालाले विश्व परिवेशमा पत्रकारिता र महासंघका पदाधिकारीको भूमिका विषयमा सहजीकरण गरेका थिए। दोस्रो दिन गण्डकी प्रदेशको पर्यटन प्रवर्धनमा पत्रकारको भूमिकाबारे अन्तरक्रिया गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै