नेपाल–भारत पर्यटन सहकार्यलाई गति दिन नेपालगञ्जमा अन्तरदेशीय भेला – Sagarmathapana:: Online News Portal

नेपाल–भारत पर्यटन सहकार्यलाई गति दिन नेपालगञ्जमा अन्तरदेशीय भेला

   २०८२ पुष ६ गते  

नेपालगञ्ज।नेपाल–भारतबीच पर्यटन आवागमन सहज बनाउँदै भारतीय पर्यटकको आगमन बढाउने उद्देश्यका साथ नेपालगञ्जमा ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ शुक्रबारदेखि सुरु भएको छ। नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा तीनदिने कन्क्लेभ आयोजना गरिएको हो।

कन्क्लेभको उद्घाटन नेपालगञ्ज उपमहानगर पालिकाका प्रमुख प्रशान्त विष्टले गरेका हुन्। उद्घाटन समारोहमा उनले नेपालगञ्ज धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य रहेको उल्लेख गर्दै भारतीय पर्यटक आकर्षित गर्न स्थानीय तह, निजी क्षेत्र र केन्द्रीय निकायबीच समन्वय आवश्यक रहेको बताए।


कार्यक्रमको पहिलो प्यानल सत्रमा ‘नेपाल–भारतबीच सीमापार पर्यटन कनेक्टिभिटी सुदृढीकरण’ विषयमा छलफल गरिएको थियो। छलफलमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपक राज जोशी, नेपालगञ्जका पूर्वप्रमुख धवल शम्शेर राणा, बाँकेका प्रहरी उपरीक्षक (एसपी) अंगुर जिसी तथा नाट्टा बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देल सहभागी थिए।

प्यानल छलफलमा सीमा क्षेत्रमा देखिने अनावश्यक कडाइ, व्यवहारगत समस्या तथा लामो सुरक्षा जाँच प्रक्रियाले पर्यटक निरुत्साहित हुने गरेको विषय उठान गरिएको थियो। वक्ताहरूले नेपालगञ्ज केवल ट्रान्जिट सहर नभई कर्णाली र सुदूरपश्चिमको प्रवेशद्वार तथा सम्भावनायुक्त पर्यटन हब भएको उल्लेख गर्दै सीमापार अवरोध हटाउन व्यवहारिक र उदार प्रोटोकल आवश्यक रहेकोमा जोड दिए।

कन्क्लेभमा सहभागी भारतीय टुर एण्ड ट्राभल व्यवसायी तथा पत्रकारहरूले पर्यटकप्रति सुरक्षाकर्मीको व्यवहार सुधार गर्न नेपाल–भारत संयुक्त पर्यटन परिषद् गठनको सुझाव दिएका थिए। बाँकेका प्रहरी उपरीक्षक जिसीले सीमा सुरक्षाका चुनौती स्वीकार गर्दै पर्यटकमैत्री सेवा सुनिश्चित गर्न प्रतिबद्ध रहेको बताए। उनले सुरक्षा जाँच प्रक्रियालाई डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको जानकारी दिए।

नेपाल पर्यटन बोर्डका सीईओ जोशीले बाँके र नेपालगञ्ज क्षेत्रमा पर्यटनको ठूलो सम्भावना रहेको बताउँदै यस्ता अन्तरदेशीय कार्यक्रमले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। नेपाल वेडिङ डेस्टिनेसन, वेलनेस तथा वाइल्ड–लाइफ टुरिज्मका लागि उत्कृष्ट गन्तव्य भएको पनि उनले उल्लेख गरे।

नाट्टा बाँकेका पूर्वअध्यक्ष तथा कार्यक्रम संयोजक सिग्देलले नेपालगञ्जलाई वेडिङ डेस्टिनेसनका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउँदै दिल्ली–नेपालगञ्ज प्रत्यक्ष उडान आवश्यक रहेको धारणा राखे। नेपालगञ्जका पूर्वमेयर राणाले सीमाका समस्या सहज बनाउने र यहाँको पर्यटन सम्भावना उजागर गर्नु आजको मुख्य आवश्यकता भएको बताए।

कन्क्लेभमा करिब ४० जना भारतीय टुर अपरेटरको सहभागिता रहेको छ भने ३२ वटा स्टल राखिएका छन्। कार्यक्रममा बी–टु–बी सत्र, पर्यटन अनुभव आदान–प्रदान, नीतिगत छलफल, सांस्कृतिक कार्यक्रम तथा आइतबार बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारीसमेत समावेश गरिएको छ।

नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले ‘क्रस–बोर्डर टुरिज्म कन्क्लेभ’ सीमापार पर्यटन सहकार्यलाई चलायमान बनाउने प्रभावकारी प्लेटफर्म बनेको बताए।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै