नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न – Sagarmathapana:: Online News Portal

नेपाल–भारत पर्यटन सहकार्य सुदृढ गर्न पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

   २०८२ पुष ५ गते  

उत्तर प्रदेश–गण्डकी प्रदेशबीच कनेक्टिभिटी, धार्मिक र साहसिक पर्यटनमा सहकार्य विस्तारमा जोड

पोखरा।नेपाल पर्यटन बोर्ड र काठमाडौंस्थित भारतीय राजदूतावासको सहकार्यमा पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न भएको छ । पोखरा पर्यटन परिषद्सँगको संयुक्त आयोजनामा २०८२ पौष ३ गते सम्पन्न कार्यक्रम नेपाल–भारतबीच विशेषतः उत्तर प्रदेश र गण्डकी प्रदेशबीच पर्यटन सहकार्य विस्तारमा केन्द्रित रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे प्रमुख अतिथि रहेको कार्यक्रममा गण्डकीका पर्यटन सम्भावनालाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको थियो । मुख्यमन्त्री पाण्डेले पोखरा र मुक्तिनाथलाई केन्द्रमा राख्दै भारतसँग बढ्दो पर्यटन सहकार्यलाई स्वागतयोग्य र दुवै देशका लागि लाभदायक कदमको रूपमा उल्लेख गरे ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालको पर्यटन अवस्था, प्राथमिक बजार र भावी रणनीतिबारे प्रस्तुति दिँदै भारत नेपालका लागि सबैभन्दा ठूलो पर्यटक स्रोत मुलुक रहेको बताए । धार्मिक, सांस्कृतिक, साहसिक तथा प्रकृतिमुखी पर्यटनमार्फत दुवै देशले साझा लाभ लिन सक्ने उनले उल्लेख गरे ।


भारतीय राजदूतावासका नियोग उप–प्रमुख डा. राकेश पाण्डेले कनेक्टिभिटीमा आएको सुधारले अन्तरदेशीय पर्यटनलाई नयाँ गति दिएको बताउँदै नेपाल–भारतका धार्मिक तथा सांस्कृतिक पर्यटन सर्किटको संयुक्त प्रवर्द्धनमा सहकार्य अपरिहार्य रहेको धारणा राखे । सीमा क्षेत्र केन्द्रित पर्यटनलाई व्यवस्थित रूपमा अघि बढाउन समन्वय आवश्यक रहेको उनको भनाइ थियो ।

यस अवसरमा उत्तर प्रदेश पर्यटनका सहनिर्देशक दिनेश कुमारले उत्तर प्रदेशका प्रमुख पर्यटन सर्किट, आगामी माघ मेला र पर्यटन नीतिमा अपनाइएका उत्कृष्ट अभ्यासबारे जानकारी गराए ।

कार्यक्रमअन्तर्गत आयोजित बीटुबी सत्रमा भारतबाट करिब १० जना र नेपालबाट ६० जना पर्यटन व्यवसायी तथा टुर अपरेटर सहभागी थिए । स्थल मार्ग पर्यटन, बौद्ध सर्किट, वन्यजन्तु, साहसिक तथा आध्यात्मिक पर्यटन क्षेत्रमा सहकार्यका सम्भावनाबारे छलफल भएको बोर्डले जनाएको छ ।

यसै क्रममा नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन परिषद्को सहकार्यमा उत्तर प्रदेशका प्रतिनिधिमण्डलका लागि २०८२ मंसिर २९ देखि पौष २ गतेसम्म परिचयात्मक भ्रमण (फ्याम ट्रिप) आयोजना गरिएको थियो । पोखरा र आसपासका गन्तव्यको प्रत्यक्ष अनुभवमार्फत पर्यटन सहकार्यलाई व्यवहारिक रूपमा विस्तार गर्ने अपेक्षा गरिएको छ ।

नेपाल पर्यटन बोर्डले यस्ता क्षेत्रीय तथा अन्तरदेशीय पहलहरूले नेपाल–भारत पर्यटन सम्बन्धलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै