सौराहामा पुस ११-१३ सम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव
काठमाडौं।चितवनको प्रमुख पर्यटकीय गन्तव्य सौराहामा आगामी पुस ११ देखि १३ गतेसम्म १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२ आयोजना हुने भएको छ ।महोत्सव क्षेत्रीय होटल संघ नेपाल, चितवनको आयोजनामा तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडको मुख्य सह–आयोजनामा हुन लागेको हो ।
मंगलबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महोत्सव रत्ननगर नगरपालिकाको संरक्षकत्वमा सञ्चालन हुने जानकारी दिइएको छ । महोत्सवको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँले गर्ने कार्यक्रम तय भएको छ ।



आयोजकका अनुसार विश्व सम्पदामा सूचीकृत चितवन राष्ट्रिय निकुञ्ज र सौराहा क्षेत्रको पर्यटन प्रवर्द्धन, मानव र वन्यजन्तुबीचको सहअस्तित्व, संरक्षण चेतना अभिवृद्धि तथा दिगो पर्यटन विकास महोत्सवका प्रमुख उद्देश्य हुन् ।सन् १९९७ देखि निरन्तर आयोजना हुँदै आएको यो महोत्सवले चितवनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।
पत्रकार सम्मेलनमा शुभकामना व्यक्त गर्दै नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मत सिंह ऐरले चितवनको पर्यटन प्रवर्द्धनमा बोर्डले निरन्तर सहकार्य गर्दै आएको बताए । उनले हात्ती तथा पर्यटन महोत्सवले आन्तरिक पर्यटन प्रवर्द्धन र गन्तव्य ब्रान्डिङमा प्रभावकारी भूमिका खेलेको उल्लेख गरे ।
आयोजकले महोत्सवमा हात्तीको पूर्ण सुरक्षालाई उच्च प्राथमिकता दिइने स्पष्ट पारेका छन् । अन्तर्राष्ट्रिय मापदण्डअनुसार कार्यक्रम सञ्चालन गरिने, हात्तीमाथि कुनै पनि किसिमको क्रूर व्यवहार निषेध गरिने, पशु चिकित्सकको नियमित निगरानी रहने तथा तालिमप्राप्त माहुतेको मात्र सहभागिता सुनिश्चित गरिने जनाइएको छ ।
महोत्सव अवधिभर करिब ८० वटा हात्तीको सहभागिता रहनेछ । हात्ती शोभायात्रा, सांस्कृतिक झाँकी, हात्ती सजावट प्रदर्शन, हात्ती भोजन कार्यक्रम, स्वास्थ्य शिविर, हात्तीमैत्री खेल, स्थानीय खेलकुद प्रतियोगिता, सफारी पर्यटन प्रवर्द्धन कार्यक्रम तथा मानव–वन्यजन्तु सहअस्तित्वसम्बन्धी अन्तरक्रिया कार्यक्रम महोत्सवका मुख्य आकर्षण हुनेछन् ।
यसका साथै महोत्सवले स्थानीय कला, संस्कृति, भाषा र परम्पराको संरक्षण, महिला उद्यमी तथा स्थानीय कृषि उत्पादनको बजारीकरणमा समेत योगदान पुर्याउने अपेक्षा गरिएको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत प्रचार–प्रसार गरिने र वातावरणमैत्री संरचना तथा स्टलहरू निर्माण गरिने आयोजकले जानकारी दिएका छन् ।
महोत्सवको अवसरमा पुस ११ देखि १३ गतेसम्म सौराहाका होटल तथा रेस्टुरेन्टहरूमा खाना र आवासमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । महोत्सवका कारण प्रत्येक वर्ष २५ देखि ३० प्रतिशतसम्म पर्यटक आगमन वृद्धि हुँदै आएको आयोजकको दाबी छ ।















