TAAN र कोरियाको KATA बीच पर्यटन प्रवर्द्धनका लागि समझदारीपत्र (MoU) हस्ताक्षर – Sagarmathapana:: Online News Portal

TAAN र कोरियाको KATA बीच पर्यटन प्रवर्द्धनका लागि समझदारीपत्र (MoU) हस्ताक्षर

   २०८२ पुष १ गते  

काठमाडौं।ट्रेकिङ एजेन्सिज् एसोसिएसन अफ नेपाल (TAAN) र कोरिया एसोसिएसन अफ ट्राभल एजेन्ट्स (KATA) बीच द्विपक्षीय पर्यटन प्रवर्द्धन र सहकार्य विस्तार गर्ने उद्देश्यले समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ। उक्त MoU सन् २०२५ डिसेम्बर १५ मा हस्ताक्षर गरिएको हो।

समझदारीपत्रमा TAAN का अध्यक्ष श्री सागर पाण्डे र KATA का उपाध्यक्ष श्री किम बिओम्जेले हस्ताक्षर गर्नुभएको हो। हस्ताक्षर समारोहमा नेपालका लागि कोरियाली राजदूत महामहिम पार्क ताए–यङको विशेष उपस्थिति रहेको थियो।

MoU हस्ताक्षर समारोहमा KATA का महासचिव श्री बे यङ चाङ, कोरिया एसोसिएसन अफ नेपालका अध्यक्ष श्री चा सुङ वोन तथा TAAN का पदाधिकारी एवं कार्यसमिति सदस्यहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा TAAN का महासचिव श्री सोनाम जी. शेर्पा, संयुक्त कोषाध्यक्ष श्री लाक्पा टी. शेर्पा, कार्यसमिति सदस्यहरू श्री राजु गुरुङ, श्री रमेश लम्साल, श्री नकुल देवकोटा, श्री राजेन्द्र अम्गाईं, TAAN का प्रमुख कार्यकारी अधिकृत (CEO) श्री रामचन्द्र सेढाईंलगायत सहभागी हुनुहुन्थ्यो।

समझदारीपत्र अनुसार TAAN ले KATA तथा कोरियाली ट्राभल एजेन्सीहरूसँग सहकार्य गरी नेपाली पर्यटन गन्तव्य तथा उत्पादनहरूको प्रवर्द्धन गर्नेछ, जसबाट कोरियाली पर्यटकहरूलाई नेपाल भ्रमणका लागि आकर्षित गर्ने लक्ष्य राखिएको छ। साथै, कोरियाली पर्यटकहरूको सुरक्षालाई प्राथमिकतामा राख्दै सूचना प्रवाह, सुरक्षा तालिम तथा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाइने TAAN ले जनाएको छ।


त्यसैगरी, TAAN ले KATA सँग सहकार्य गर्दै नेपाली पर्यटकहरूलाई कोरिया भ्रमणका लागि प्रोत्साहन गर्ने विभिन्न कार्यक्रम तथा पहलहरू पनि अघि बढाउनेछ।

उता KATA ले TAAN सँग मिलेर नेपालमा कोरियाली पर्यटक आगमन बढाउन विभिन्न कार्यक्रम, अभियान तथा प्रवर्द्धनात्मक गतिविधिहरू आयोजना गर्नेछ। साथै, नेपाल भ्रमणमा आउने कोरियाली ट्रेकर तथा पर्यटकहरूको सुरक्षाका लागि आवश्यक सूचना, प्रविधि तथा अन्य सहयोग प्रदान गर्ने प्रतिबद्धता पनि KATA ले जनाएको छ।

यस MoU मार्फत नेपाल–कोरिया बीचको पर्यटन सम्बन्ध अझ सुदृढ हुने र दुवै देशका पर्यटन व्यवसायीहरूबीच आपसी सहकार्य तथा मित्रता थप मजबुत हुने विश्वास लिइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै