नेपाल पर्वतारोहण प्रशिक्षक संघद्वारा ५१औँ आधारभूत रक क्लाइम्बिङ तालिम सम्पन्न
काठमाडौँ-नेपाल पर्वतारोहण प्रशिक्षक संघ (NMIA) ले आफ्नो ५१औँ आधारभूत रक क्लाइम्बिङ तालिम आइतबार सफलतापूर्वक सम्पन्न गरेको छ। काठमाडौँस्थित पासाङ ल्हामु फाउन्डेसन वाल क्लाइम्बिङ परिसरमा आयोजित समापन समारोहमा ४९ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको हो।
मंसिर २४ देखि २९ गतेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरिएको सातदिने तालिममा नेपालका १० जिल्लाबाट सहभागीहरू सहभागी भएका थिए। तालिममा १२ जना पर्वतारोहण प्रशिक्षकसमेत सहभागी थिए। प्रशिक्षकहरूमा लाम बाबु शेर्पा, छिरिङ पाण्डे भोटे, पेम्बा रिता शेर्पा, आशिष गुरुङ, टेन्डी शेर्पा, दोर्जे शेर्पा, दावा ग्याल्जेन शेर्पा, दावा सिङ्गी ह्योल्मो, कुसाङ शेर्पा, पेम्बा तामाङ, कुंगा शेर्पा र मिङ्मा छिरी शेर्पा रहेका थिए।

तालिममा एक जना दक्षिण कोरियाली महिला प्रशिक्षार्थीको पनि सहभागिता रहेको थियो।तालिम कार्यक्रमअन्तर्गत पहिलो दिन सैद्धान्तिक कक्षा सञ्चालन गरिएको थियो भने दुई दिन काठमाडौँमा इनडोर क्लाइम्बिङ अभ्यास गराइएको थियो। त्यसपछि हाटीबनमा तीन दिन आउटडोर रक क्लाइम्बिङ, छैटौँ दिन पुनरावलोकन (रिभिजन) तथा जगडोल क्षेत्रमा उन्नत व्यावहारिक अभ्यास गरिएको थियो। अन्तिम दिन व्यावहारिक परीक्षा पश्चात प्रमाणपत्र वितरण गरिएको हो।
समापन समारोहमा प्रमुख प्रशिक्षक लाम बाबु शेर्पा, NMIA तालिम समितिका सदस्य तथा IFMGA/NNMGA प्रमाणित पर्वत मार्गदर्शक रितेन जाङ्बु शेर्पा (तासी) ले प्रमाणपत्र वितरण गरेका थिए।
कार्यक्रममा बोल्दै प्रमुख प्रशिक्षक शेर्पाले तालिमले सुरक्षा मापदण्ड, टोली कार्य र व्यावसायिक रक क्लाइम्बिङ तथा पर्वतारोहणका लागि आवश्यक प्राविधिक सीपमा जोड दिएको बताए।
२००२ मा स्थापना भएको नेपाल पर्वतारोहण प्रशिक्षक संघले नियमित तालिम कार्यक्रममार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। संघले नेपालको पर्वतीय पर्यटन क्षेत्रमा सुरक्षा र व्यवसायिकता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ।












