फेवाताल किनार उत्सवमय,२७औँ पोखरा स्ट्रिट फेस्टिभल नजिकिँदै – Sagarmathapana:: Online News Portal

फेवाताल किनार उत्सवमय,२७औँ पोखरा स्ट्रिट फेस्टिभल नजिकिँदै

   २०८२ मंसिर १९ गते  

काठमाडौं।आगामी २७औँ पोखरा सडक महोत्सव नजिकिँदै गर्दा पोखरा शहर पुनः उत्सवको रौनकमा रंगिन थालेको छ। फेवाताल किनारदेखि प्रमुख सडकमार्गसम्म रंगीन बत्ती, सांगीतिक माहोल र स्थानीय परिकारको सुवासले शहरलाई भव्य उत्सव–मञ्चमा रूपान्तरण गर्ने तयारी तीव्र भएको छ।

बिहीबार आयोजित पत्रकार सम्मेलनमा Restaurant & Bar Association of Nepal–Pokhara (रेवान) ले यस वर्षको महोत्सवलाई पोखराको समृद्ध संस्कृति, स्थानीय समुदायको पहिचान र पर्यटनका विशेषतालाई अझ प्रभावशाली रूपमा प्रस्तुत गर्ने योजना सार्वजनिक गरेको छ।

आयोजक रेवानका अनुसार पोखरा सडक महोत्सवले विगत २६ वर्षदेखि स्थानीय व्यवसाय, पर्यटन र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्दै आएको छ। हरेक वर्ष बढ्दो सहभागीता, सहयोग र विश्वासका कारण महोत्सवको भव्यता तथा आकर्षणमा निरन्तर वृद्धि भइरहेको बताइएको छ।

यस वर्ष पनि देश–विदेशका पर्यटक, स्थानीय समुदाय र सरोकारवालाको सहभागीता महोत्सवलाई अझ जीवन्त बनाउने अपेक्षा गरिएको छ। आयोजकले आगामी दिनहरूमा सडक महोत्सवलाई पोखराको प्रमुख सांस्कृतिक–पर्यटन ब्रान्डका रूपमा थप मजबुत बनाउन निरन्तर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै