जाडोयाममा छाला फुट्ने समस्या बढ्दै, छालारोग विशेषज्ञ डा अनु सुवेदीले दिए बच्ने उपाय
धापासी,काठमाडौँ।जाडोयाम सुरु संगै छाला फुट्ने समस्या तीव्र रुपमा बढ्दै गएको छ। चिसो हावा, कम आर्द्रता, हिटर–एसीको प्रयोग तथा शरीरमा तेल उत्पादन कम हुनेजस्ता कारणले धेरै व्यक्तिहरूले ओठ, हात–खुट्टा र गालामा चिरा तथा सुकेर दाजो देखिने समस्या अनुभव गरिरहेका छन्।
ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासीकी छालारोग विशेषज्ञ डा. अनु सुवेदीका अनुसार गर्मी महिनामा शरीरले बढी पसिना र तेल उत्पादन गर्ने भए पनि जाडोमा यो उत्पादन स्वतः घट्ने गर्दछ, जसले छालाको प्राकृतिक सुरक्षा तह कमजोर बनाउँछ। “जाडोको सुख्खा हावाले शरीरभित्रको पानी छिट्टै सोसिदिन्छ, त्यसैले छाला बढी सुख्खा भई फुट्ने सम्भावना हुन्छ,” डा. सुवेदी बताउँछिन्।



किन हुन्छ छाला फुट्ने समस्या ?
जाडोमा पसिना र तेल (sebum) उत्पादन घट्ने
सुख्खा र चिसो हावाको प्रभाव
हिटर तथा एसीको प्रयोगले छाला झनै सुख्खा बनाउने
ओठ, हात–खुट्टा र गाला चिसो सबैभन्दा बढी सहनुपर्ने भाग भएकाले बढी प्रभावित

छाला फुट्न नदिन के गर्नुपर्ने ?
डा. सुवेदीका अनुसार केही सरल सावधानी अपनाएमा यो समस्याबाट सहजै बच्न सकिन्छः
मनतातो पानीले मात्र नुहाउने
नुहाएपछि तुरुन्तै मोइस्चराइजर वा नरिवलको तेल लगाउने
अत्यधिक तातो पानीमा बसेर नुहानबाट जोगिने
हप्तामा २–३ दिन मात्र साबुन वा सेम्पुको प्रयोग गर्ने
शरीरमा सुतीको कपडा लगाएर मात्र ऊनको कपडा बाहिर प्रयोग गर्ने
जाडोमा पर्याप्त पानी पिउने
पञ्जा, मोजा, टोपी, मास्क प्रयोग गरी चिसोबाट छालाको रक्षा गर्ने
विशेषज्ञहरूले जाडोयाममा नियमित स्किन केयर र शरीरलाई हाइड्रेटेड राख्नु छाला स्वस्थ राख्ने मुख्य उपाय भएको बताउँछन्।













