महिलाको नेतृत्वमा भएको हिमलुङ एक्सपीडिसन २०२५ सफल,७,१२६ मिटर शिखर सफल आरोहण
काठमाडौं।नेपाली शेर्पा महिला टोली र ब्राजिलियन महिला आरोहीहरूले गत अक्टोबर २६ गते दिउँसो २ बजे हिमलुङ हिमाल (७,१२६ मिटर) सफलतापूर्वक आरोहण गर्दै ७,००० मिटर वर्गको पर्वतमा पहिलोपटक नेपाली महिलाद्वारा पूर्ण रूपमा नेतृत्व गरिएको अन्तर्राष्ट्रिय अभियानको इतिहास रचेका छन्।
यो ऐतिहासिक आरोहण गर्ने टोलीमा २१ वर्षीया छिरिङ दोका शेर्पा सबैभन्दा कम उमेरकी आरोही थिइन्। २०२२ देखि ट्रेकिङ गाइडको रुपमा कार्यरत छेरिङले खुम्बु क्लाइम्बिङ सेन्टरबाट आधारभूत र उन्नत आइ्स क्लाइम्बिङ तथा रेस्क्यु तालिम पूरा गरिसकेकी छन्। यसअघि उनले सुन्दर शिखर (Sundar Peak) पनि आरोहण गरिसकेकी छिन्।



“यो महिलाको नेतृत्वमा भएको अभियान भएकै कारण म सहभागी हुन चाहन्थेँ। महिलाहरू पर्वतमा सक्षम र शक्तिशाली छन् भन्ने देखाउन चाहें,”छिरिङले भनिन्।
टोलीले अक्टोबर २३ मा क्याम्प–१, अक्टोबर २४ मा क्याम्प–२ र अक्टोबर २५ मा मिडल क्याम्प पुगेको थियो। सोही रात १० बजे उनीहरूले अन्तिम आरोहण सुरु गरे। तीव्र हावाका कारण धेरै आरोही फर्कन बाध्य भए पनि उनीहरूको टोली भने अडिग रह्यो।
“हामी शिखर पुग्दा अचानक हावा रोकिन्थ्यो र मौसम खुल्यो। वरिपरि देखिएको दृश्य अविश्वसनीय सुन्दर थियो। त्यो हाम्रो सबैभन्दा खुशी र गर्वको क्षण थियो,” उनले सम्झिइन्।
टोली अक्टोबर २७ मा सुरक्षित रूपमा बेस क्याम्प फर्कियो। फर्किएपछि तीन दिनसम्म भारी हिमपात भएको थियो।छिरिङका अनुसार यस अभियानले उनलाई आत्मविश्वास, टोली भावना र धर्यताको महत्वपूर्ण अनुभव दिएको छ। यसअघि उनले नयाँ मार्गबाट नुप्चु आरोहण गर्ने प्रयास गरेकी थिइन् तर खराब मौसमका कारण फर्किनुपरेको थियो।
७,००० मिटरको पहिलो महिलाको नेतृत्वमा अन्तर्राष्ट्रिय अभियान
डोरजिस एड्भेन्चर प्रा.लि. द्वारा आयोजना गरिएको ‘हिमलुङ वुमन एक्सपीडिसन २०२५’ मा गाइड, आरोही, भान्से, पोर्टरदेखि सबै भूमिकामा महिलाहरू नै सहभागी भएका थिए। यस्तो प्रकारको पूर्ण महिलानिर्देशित अन्तर्राष्ट्रिय अभियान नेपालमा यसअघि कहिल्यै भएको थिएन।
विश्वप्रसिद्ध पर्वत–गाइडहरू जन्माउने गाउँ फोर्त्सेमा हुर्किएकी छिरिङ सानैदेखि पर्वतारोहणका कथाहरूमा बाढिएकी थिइन्। आगामी वर्षहरूमा उनले ८,००० मिटरका हिमालहरू आरोहण गर्ने लक्ष्य बनाएकी छन्। उनका अनुसार, “मेरो यात्रा हेरेर अरू युवा महिलाहरू पनि हिमाल आरोहणमा अघि बढुन् भन्ने चाहना छ।












