दुप्चेश्वर महादेवमा धान्यपूर्णिमा मेला : दुई दिन हुने भव्य धार्मिक उत्सवका तयारी पूरा
नुवाकोट-नुवाकोटको प्रमुख धार्मिक तथा पर्यटकीय गन्तव्य दुप्चेश्वर महादेव मन्दिरमा यो वर्ष पनि धान्यपूर्णिमाको अवसरमा लाग्ने वार्षिक मेला भव्य रूपमा आयोजना गरिने भएको छ।दुप्चेश्वर गाउँपालिका–६ तादी खोलाको किनारमा अवस्थित मन्दिर परिसरमा मङ्सिर १६ र १७ गते विशेष मेला लाग्ने तयारी अन्तिम चरणमा पुगेको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष शंकर थापाले जानकारी दिनुभयो।

सदरमुकाम विदुरदेखि करिब ४५ किलोमिटर दूरीमा रहेको ‘सानो पशुपतिनाथ’का रूपमा परिचित दुप्चेश्वर महादेवमा एकादशीदेखि नै भक्तजनहरूको भीड बढ्दै गएको छ। विशेषगरी पुत्र प्राप्ति, सन्तानको बोली खुल्ने, चौपायामा गर्भाधान हुने तथा अन्य मनोकामना पूर्ति हुने विश्वाससहित भक्तजनहरू यहाँ पूजाआराधनाका लागि आउने गर्छन्।
स्थानीय परम्परा अनुसार झन्डै दुई सय वर्षअघि राउतबेसीका तामाङ परिवारले पालेकी गाईले तादी किनारको भीरमा बच्चा जन्माएर त्यही ठाउँमा भगवानलाई दूध चढाएपछि दुप्चेश्वर महादेवको स्थापना भएको मानिन्छ। त्यसैगरी समुद्र मन्थनपछि विष पिएर छटपटाएका शिवजी पशुपतिनाथबाट दुप्चेश्वर हुँदै गोसाइँकुण्डतिर गएको किंवदन्तीले समेत यस स्थललाई विशेष धार्मिक धरोहरका रूपमा स्थापित गरेको छ।


धान्यपूर्णिमाको चतुर्दशी र पूर्णिमाका दिन मेलाको विशेष रौनक रहने छ भने भक्तजनको सहज आवागमन, सुरक्षा तथा व्यवस्थापनका लागि आवश्यक सबै समन्वय पूरा भएको अध्यक्ष थापाले बताउनुभयो। वर्षभरि फागु पूर्णिमा, तीज, दशैं, तिहारलगायत पर्वमा यहाँ पूजा–आराधना गरिने भएकाले दुप्चेश्वर हिन्दु तथा बौद्ध दुवै धर्मावलम्बीहरूको साझा धार्मिक केन्द्रका रूपमा प्रख्यात छ।
दुप्चेश्वरको धार्मिक पर्यटन प्रवर्द्धनमा यो वार्षिक मेला महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ।












