नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अभिमुखिकरण कार्यक्रम सम्पन्न – Sagarmathapana:: Online News Portal

नेपालगन्जमा पर्यटन फोटो पत्रकारिता अभिमुखिकरण कार्यक्रम सम्पन्न

   २०८२ मंसिर ७ गते  

नेपालगन्ज-नेपाल पर्यटन बोर्डको आयोजनामा आज नेपालगन्जमा फोटोग्राफी रिपोर्टिङ सम्बन्धी अभि-मुखिकरण(अनुशिक्षण)कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रम नेपाल एशोसियन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स (नाटा), बाँकेका अध्यक्ष डिल्लीराज रेग्मीको अध्यक्षतामा सञ्चालित थियो भने उद्घाटन नेपाल पर्यटन बोर्डकी वरिष्ठ प्रबन्धक तथा दिगो पर्यटन परियोजना संयोजक श्रद्धा श्रेष्ठले गर्नुभयो।

श्रेष्ठले उदघाटन भाषणमा लुम्बिनी प्रदेशभित्र पर्याप्त पर्यटकीय सम्भावना रहेको र ती सम्भावना लाई पत्रकारिता मार्फत उजागर गर्नु आवश्यक रहेको बताउनुभयो। उहाँले नेपालगन्जलाई कर्णाली र सुदूरपश्चिमको गेटवे बनेको र यहाँका प्राकृतिक तथा सांस्कृतिक सम्पदा प्रबर्द्धनका लागि मिडिया र सरोकारवाला बीच समन्वयात्मक भूमिकाको महत्व औँल्याउनुभयो। उहाँले भन्नुभयो, “नेपाल पर्यटन बोर्ड र दिगो पर्यटन परियोजनाले पछिल्लो समय राज्यको चौथो अंगको रुपमा रहेको पत्रकारिता क्षेत्रको सिप विकास र क्षमता अभिवृद्धिमा टेवा पुर्याउने उद्देश्यले यो अभिमुखिकरण कार्यक्रम राखिएको छ ।” उहाँले आगामी दिनमा पर्यटन विकासका थप कार्यक्रम ल्याउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रममा नाटा बाँके र क्रियाशील पत्रकार महिला बाँकेको समन्वय रहेको थियो। सहभागीहरूले यस्तो अभिमुखिकरणले स्थानीय पर्यापर्यटनका प्रयासलाई उजागर गरी थप क्रियाशिलता बढाउने विश्वास व्यक्त गरे। नाटा बाँकेका निर्वतमान अध्यक्ष श्रीराम सिग्देलले बाँकेमा पछिल्ला दिनमा पर्यटन सम्बन्धी छलफल नियमित हुन थालेको र स्थानीय गन्तव्य पहिचान गरी भ्रमण गर्ने अभ्यास सुरु भएको जानकारी दिनुभयो। उहाँले जोड दिनुभयो — नेपालगन्ज पहिले ट्रान्जिट प्वाइन्ट मात्र मानिंदथ्यो, अब गन्तव्यका रूपमा विकास गर्न मिडियाको महत्वपूर्ण भूमिका छ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष शुक्रऋषि चौलागाई, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नविन गिरी र क्रियाशिल पत्रकार महिला बाँकेकी अध्यक्ष साबित्री गिरीले पनि सहभागी भएर पश्चिम नेपालको पर्यटन प्रवद्र्धनका लागि पत्रकारहरूसँग लक्षित अभिमुखिकरण, फेलोशिप र प्रशिक्षण जस्ता कार्यक्रम ल्याउनुपर्ने आवश्यकता औँल्याउनुभयो। नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिप प्रकाश कार्कीले पर्यटन रिपोर्टिङको सैद्धान्तिक पक्ष र अभ्यासबारे मार्गदर्शन गर्नुभयो भने फोटो पत्रकार सुनिल चुडामणी बज्राचार्यले पर्यटकीय उत्पादनको तस्बिर खिच्ने तरिका र प्रक्रियाबारे प्राविधिक अभिमुखिकरण गराउनुभयो।

कार्यक्रममा बाँकेका विभिन्न मिडियामा कार्यरत ६० भन्दा बढी पत्रकार सहभागी थिए। आयोजकले यो अभिमुखिकरणले नेपालगन्जको पर्यटकीय सम्भावना उजागर र प्रबर्द्धन गर्न महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै