सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरू,२८ महिला सहभागी – Sagarmathapana:: Online News Portal

सोलुखुम्बुमा निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण सुरू,२८ महिला सहभागी

   २०८२ मंसिर ३ गते  

सोलुखुम्बु।सोलुखुम्बु जिल्लाको गार्मामा १५ दिने निःशुल्क महिला ट्रेकिङ गाइड प्रशिक्षण मंगलबारदेखि सुरू गरिएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) अन्तर्गत सञ्चालित दिगो पर्यटन परियोजना (STP) को संयोजन तथा नेपाल माउन्टेन एकेडेमीको आयोजनामा सुरु गरिएको तालिममा देशभरका २८ महिला सहभागी छन्।




महिलालाई आत्मनिर्भर, सीपयुक्त र साहसिक पर्यटन क्षेत्रमा सक्षम बनाउने उद्देश्यसहित सञ्चालन गरिएको तालिममा पदमार्ग सम्बन्धी प्राविधिक ज्ञान, सुरक्षा व्यवस्थापन, प्राथमिक उपचार, हिमाली क्षेत्रको आचरण, पेशागत सेवा र नेतृत्व विकाससम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिँदैछ।

उद्घाटन समारोहमा सोलुखुम्बु जिल्ला समन्वय अधिकारी चन्द्रसिंह श्रेष्ठ, सोलुदुधकुण्ड नगरपालिकाका प्रशासन प्रमुख तुक्ति शेर्पा, वडा नम्बर–७ का वडाध्यक्ष सोनाम शेर्पा, वडा सदस्य बलकाजी कार्की र व्यावसायिक तालिम केन्द्रका प्रिन्सिपल लाक्पा रिन्जी शेर्पाको उपस्थिति रहेको थियो। उनीहरूले महिलाको बढ्दो पर्यटन सहभागिताले हिमाली पर्यटनलाई सुरक्षित, समावेशी र व्यावसायिक बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे।


नेपाल माउन्टेन एकेडेमीका कार्यकारी निर्देशक अनिल किरातीका अनुसार गार्मामा पहिलोपटक सुरु गरिएको यो आवासीय तालिमका लागि स्थानीय तहमार्फत महिला सहभागी जुटाउने कार्य भए पनि आवश्यक संख्या नपुगेपछि अन्य जिल्लाका महिलालाई पनि समावेश गरिएको हो।

बोर्डले आगामी दिनमा महिला तथा स्थानीय समुदाय लक्षित यस्ता क्षमता अभिवृद्धि तालिम विस्तार गर्दै दिगो पर्यटन प्रवर्द्धन र महिलाको आर्थिक सशक्तीकरणमा थप योगदान दिने प्रतिबद्धता जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै