नेपाल पर्वतारोहण संघको नयाँ नेतृत्व चयन, अध्यक्षमा फुर्वा गेल्जे शेर्पा
काठमाडौं।नेपाल पर्वतारोहण संघ (NMA) को हालै सम्पन्न निर्वाचनबाट नयाँ नेतृत्व चयन भएको छ। निर्वाचनमा फुर्वा गेल्जे शेर्पा ३४२ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका छन्। उनका प्रतिस्पर्धी कुलबहादुर गुरुङले २८८ मत प्राप्त गरेका थिए।
वरिष्ठ उपाध्यक्षमा ईश्वरी पौडेल ३४५ मतसहित विजयी भए भने उनका प्रतिस्पर्धी टिका गुरुङले २५८ मत ल्याए। पहिलो उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ मत प्राप्त गरी काजी शेर्पा (२५६) लाई पराजित गरे। दोस्रो उपाध्यक्षमा बोधराज भण्डारी ३६८ मतसहित विजयी भए भने धनबहादुर गुरुङले २३८ मत ल्याए।
महासचिव पदमा राजेन्द्र बहादुर लामा ३१८ मतसहित निर्वाचित भए। उनका प्रतिद्वन्द्वी विमल नहर्कीले २०९ र शिव सापकोटाले ६८ मत प्राप्त गरेका थिए। सचिवमा चन्दन थापाले ३५८ मत पाए भने न्गिमा डिकी शेर्पाले २४४ मत पाए।
कोषाध्यक्ष पद भने रोचक बनेको छ। न्गिमा नुरबु शेर्पा र सुमी लामाले समान ३०४–३०४ मत प्राप्त गरेपछि दुवै जना आधा–आधा कार्यकालका लागि पद सम्हाल्ने सहमति भएको छ।
कार्यसमिति सदस्यमा मुलाल गुरुङ (३५१), मिङ्मा थुप्देन शेर्पा (३२६), डेनदी शेर्पा (३११), निशा भोते (३०७), विक्रम कार्की (३०६), केदार न्यौपाने (३०२), रिन्जे शेर्पा (३०१), देवेन्द्र डंगोल (२९५), गोपाल थापा (२८८), डिकी शेर्पा (२८८) र माधवकुमार धमला (२७८) निर्वाचित भएका छन्।












