कुलबहादुर गुरुङ एनएमएको अध्यक्षका उम्मेदवार, “हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान” नारा सहित चुनावी अभियानमा
काठमाडौँ।नेपालको पर्वतीय पर्यटन क्षेत्रमा तीन दशकभन्दा बढी समय सक्रिय रहेका कुलबहादुर गुरुङ नेपाल पर्वतारोहण सङ्घ (एनएमए) को अध्यक्ष पदका लागि उम्मेदवार बनेका छन् । धादिङको रूबीभ्यालीका स्थायी बासिन्दा गुरुङ हाल मलेसियाको लिङ्कन विश्वविद्यालयमा पर्वतीय पर्यटनसम्बन्धी विद्यावारिधि गर्दैछन् ।
चुनावी घोषणा र एजेन्डा
भदौ ७ हुने निर्वाचनका लागि “हिमाल हाम्रो गौरव, नेतृत्व हाम्रो पहिचान, सशक्त सङ्घ दिगो पर्वतीय पर्यटन” नारासहित मैदानमा उत्रिएका गुरुङले हालै राजधानीमा भव्य कार्यक्रम गर्दै आफ्नो समूहको घोषणापत्र सार्वजनिक गरेका थिए । कार्यक्रममा उनले आरोहण फोहोर व्यवस्थापनलाई दिगो मोडलमा लैजाने, फोहोर धरौटी रकम फिर्ता प्रणाली सुधार गर्ने, ‘ग्रीन गाइडलाइन’ कडाइका साथ पालना गराउने र जलवायु कूटनीतिमा नेपालको सशक्त भूमिका सुनिश्चित गर्ने मुख्य एजेन्डा प्रस्तुत गरे ।
पर्यटन र सामाजिक क्षेत्रमा संलग्नता
गुरुङ १९९२ देखि पर्यटन क्षेत्रमा सक्रिय छन् । उनी यसअघि एनएमएको महासचिव र ट्रेकिङ एजेन्सीज एसोसिएशन अफ नेपाल (टान) का उपाध्यक्षसमेत रहिसकेका छन् । अन्तर्राष्ट्रिय पर्वतारोहण महासंघसहित विभिन्न संस्थामा सक्रिय गुरुङ व्यवसायी मात्र नभई शिक्षक, तालिमकर्ता, मोटिभेशनल स्पिकर र लाइफ कोचको रुपमा पनि परिचित छन् ।
तालिम, सुरक्षा र सामाजिक सुरक्षामा जोड
गुरुङले पर्वतीय पर्यटन व्यवसायसँग सम्बन्धित गाईड, शेर्पा तथा श्रमिकका लागि बीमा, स्वास्थ्य, कानूनी सहयोग र सामाजिक सुरक्षा सुनिश्चित गर्ने योजना प्रस्तुत गरेका छन् । आरोहणका क्रममा ज्यान गुमाउने श्रमिकका परिवारलाई विशेष पेन्सन, अक्षयकोष, छात्रवृत्ति तथा सीपमूलक तालिममार्फत दीगो सहयोग गर्ने उनको प्रस्ताव छ ।
संस्थागत विकास र अन्तर्राष्ट्रिय ब्रान्डिङ
उनले पर्वतारोहण तालिम प्रतिष्ठान र अनुसन्धान केन्द्र स्थापना, अन्नपूर्ण उद्धार केन्द्र, ककनी अन्तर्राष्ट्रिय स्मृति पार्क र मनाङ पर्वतारोहण तालिम विद्यालयको स्तरोन्नति गर्ने घोषणा गरेका छन् । साथै, हिमालसँग सम्बन्धित उत्पादन, सेवा र जनशक्तिलाई प्राथमिकता दिने, अफ–सिजन पर्वतारोहण प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्ने र नेपालका हिमाललाई अन्तर्राष्ट्रिय ब्रान्डका रुपमा स्थापित गर्न वार्षिक हिमाल महोत्सव आयोजना गर्ने योजनासमेत उनले अघि सारेका छन् ।
गुरुङ समूहका अन्य उम्मेदवार
गुरुङ समूहबाट वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्धितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा बिमलकुमार नहर्की उम्मेदवार बनेका छन् । त्यस्तै, सचिवमा डिमा दिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामा तथा सदस्यमा पुस्कर शाह, बालबहादुर सुयल, माधवप्रसाद पाण्डे, हरिगोपाल प्रधान, सुदांश आमा, लालबहादुर जिरेल, नई छिरिङ शेर्पा, पासाङ शेर्पा र अशोककुमार तामाङ प्रतिस्पर्धामा छन् ।












