पर्यटन प्रवर्द्धनमा अनुसन्धानलाई प्राथमिकता
काठमाडौं-नेपाल पर्यटन बोर्डले देशको पर्यटन प्रवर्द्धनमा अनुसन्धानलाई प्रमुख प्राथमिकता दिने भएको छ। बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले तथ्य र अनुसन्धानमा आधारित नीतिहरूमार्फत मात्र नेपालको पर्यटन क्षेत्रलाई दिगो र प्रतिस्पर्धी बनाउन सकिने बताएका छन्।
त्रिभुवन विश्वविद्यालयका प्राध्यापक तथा नेपाली मार्केटिङ एसोसिएसनका सचिव डा. सुशील अवालेले ‘नेपालमा पर्यटन प्रवर्द्धनको प्रभाव’ विषयमा गरेको पीएचडी अनुसन्धानबारे आज आयोजित छलफलमा प्रस्तुत गरेका थिए।
छलफलमा सीईओ जोशीले भने, “बजार प्रवर्द्धन केवल प्रचारप्रसारमा सीमित नराखी अनुसन्धानलाई प्राथमिकतामा राख्न आवश्यक छ। बोर्डले सार्वजनिक–निजी साझेदारी मोडलमार्फत विगत २७ वर्षदेखि नेपाललाई विश्वस्तरको प्रमुख पर्यटक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित काम गर्दै आएको छ।”
डा. अवालेले आफ्नो अनुसन्धानको प्रस्तुतीकरणमा नेपालको पर्यटन आगमन, पर्यटकले खर्च गर्ने प्रवृत्ति, गन्तव्य रोजाइ, साथै नीतिगत कमजोरी लगायतका विस्तृत तथ्याङ्क प्रस्तुत गरे। उनले पर्यटन प्रवर्द्धन नीतिहरू प्रभावकारी बनाउन अनुसन्धानलाई आधारभूत बनाउनु आवश्यक रहेको बताएका छन्।












