हुलाकी राजमार्ग नबनाउने हो भने सो क्षेत्रका जनतासँग कर नलिन प्रभु साहको सुझाव
काठमाडौं।आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले हुलाकी राजमार्ग नबनाउने हो भने सो क्षेत्रका जनतासँग कर नलिनको सरकारसमक्ष माग गरेका छन् । सरकारले हुलाकी राजमार्ग निर्माणको लागि ढिलासुस्ती गरेको भन्दै साहले यस्तो आक्रोश पोखेका हुन् ।
प्रतिनिधिसभाको बिहीबार बसेको बैठकको विशेष समयमा बोल्दै साहले १८ वर्षअघि सुरू भएको हुलाकी राजमार्ग अलपत्र पारिएको भनेर सरकारसँग असन्तोष प्रकट गरे । उनले भने,‘सम्माननीय सभामुख महोदय, हुलाकी सडकअन्तर्गत पर्ने बागमती खोलाको पुल कमला खोलाको पुल, कन्कार्ई खोलाको पुलहरु वर्षौसम्म अलपत्र छन् । तीन वर्षमा बनाउनुपर्ने पुल, आज १५ वर्ष पुग्दा पनि किन नबनाएको भनेर सरकारसँग सोध्न चाहन्छु । हुलाकी सडठक राष्ट्रिय गौरवको आयोजना हो । यो सडकमा झण्डै करोडौं मान्छे जोडिएका छन्, ठूलो जनसंख्यालाई लाभ दिने यो महत्वपूर्ण सडकमा किन विभेद गरियो ? नेताजीहरूको क्षेत्रमा सडक चकाचौद भैराख्दा झण्डै १८ वर्षअघि सुरु भएको यो सडक किन अलपत्र छ ?’
साहले यस सडकअन्तर्गत कयौं पुलहरुमा अझै ठेक्का नभएको आरोप लगाए । उनले थपे,‘ठेक्का भएका पुलहरु १५ वर्षसम्म, बाग्मती नदीको पुल त आजभन्दा १६ वर्षअघि शिलान्यास भएको हो । तर, अहिलेसम्म अलपत्र छ । कमला नदीको पुल पनि झण्डै १४ वर्ष भयो, कन्काई नदीको पुल झण्डै १२ वर्ष भयो। तीन वर्षको लागि ठेक्का सम्झौता भएका पुल किन बनेनन् ? ठेकेदारलाई किन कारबाही भएन ? नेताजीहरुको यसमा कुनै स्वार्थ छैन, मन्त्रीहरुको यसमा लेनदेन छैन भने ती ठेकेदारलाई किन कारबाही भएन ? ठेकेदारले समयमा काम नगर्दा उसको धरौटी किन तानिएन ? किन उसलाई सरकारले दण् िदण्डित गर्न सकेन भन्ने प्रश्न उठ्छ ।’ राष्ट्रिय गौरवका आयोजनाका सवालमा ठेकेदारसँगको मिलेमतो अन्त्य गर्नपनि सरकारलाई साहको सुझाव छ ।
समयमा ठेकेदारले काम नगरेपछि उसलाई पेनाल्टी लिनुपर्नेमा उल्टै ती निर्माण कम्पनीले बिनाशर्त म्याद थप पाएको पनि साहको आरोप छ । उनले जनताले अहिले भोगिरहेको सास्तीलाई अन्त्य गर्नपनि सरकारलाई सुझाव दिए ।
उनले हुलाकी राजमार्गको निर्माणको सवालमा खुलेआम विभेद गरिएको उनको आरोप छ । उनले भने,‘अरू राजमार्गहरुमा जसरी बहुवर्षीयको ठेक्का हुन्छ, हुलाकी सडकले बहुवर्षीयाको किन ठेक्का अनुमति पाउँदैन? अरु राजमार्गसँगै हुलाकीकोपनि अर्थ मन्त्रालयमा फाईल जान्छ, तर हुलाकीको फिर्ता आउँछ । योभन्दा अर्को विभेद के हुन्छ? यदि हुलाकी सडक बनाउनु छैन भने प्रष्ट भनिदिनुहोस–हुलाकी सडक हामी बनाउँदैनौं भनिदिनुहोस, प्रष्ट भनिदिनुभयो भने जनतापनि आश मार्छन् । हुलाकी राजमार्ग नबनाउने हो भने सो क्षेत्रका जनतासँग कर लिने अधिकार सरकारसँग नभएको उनको भनाई छ ।
साहले नारायणी नहरको पनि उस्तै हालत रहेको भन्दै चलाउन नचाहेको हो भने बन्द गर्न सुझाव दिएका छन् । रौतहटको लालबकैयाको मर्टेवा पुल, झाँझ नदीको पुल पिपरिया र जुगलियामा वर्षौदेखि अलपत्र परेको साहको गुनासो छ । यी पुलको बारेम के कस्तो प्रगति भएको छ भनेर सम्बन्धित मन्त्रीलाई सदनमा जानकारी गराउनपनि साहले सभामुखको ध्यानाकार्षण गराए ।












